| आइतवार, कार्तिक २२, २०८३

ठेकेदारको फोटो झुण्ड्याउने अभियान गोरखामा पनि खाचो

 

काम नगर्ने ठेकेदारको तस्वीर झुण्ड्याउने अभियान अहिले  बिभिन्न जिल्लाहरुमा सुरु भएको छ । कुनै जिल्लामा आश्वासन मात्र बाँड्ने काम नगर्ने जनप्रतिनिधिको तस्वीर समेत झुण्ड्याउन सुरु गरेका छन् ।

यसले देशमा नयाँ माहोल बनाएको छ । कहीँकतै भने जनावरको फोटोसँग टाँसेका पनि छन् । त्योचाहिँ अल्लि बढि भएको छ । कसैको बेइज्जत गर्दा इज्जत राखेरै बेइज्जत गर्नुपर्छ । तब मात्र बेइज्जतको पनि इज्जत हुन्छ । घटिया, तुच्छ, तल्लो दर्जाको गालीले गाली गर्नेको पनि इज्जत रहन्न । त्यसैले तुच्छ भन्दा, भद्र तरिकाले बेइज्जत गर्नुपर्छ । यसले व्यंग्यको गहनता जोगिन्छ ।

जब कामचोर ठेकेदारहरू गाडी, घर, रूख र भित्ता(भित्तामा यसरी नै मुस्कुराउनेछन्, अनि मात्र समयमा काम सम्पन्न हुन दबाब पुग्नेछ । काम नगर्ने ठेकेदारहरू, शिर झुकाउनुको साँटो शक्तिको आडमा रहेर ठालु हुन सर्वसाधारणलाई भुसुनो बराबर गन्दैनन् । त्यसैले नगरकोटबासीले, दोलखाबासीले सुरु गरेको अभियान अब देशव्यापी हुनु जरुरी छ । हरेक सहर, सडक र टोलमा कामचोर ठेकदारका तस्बिर सजिनुपर्छ ।
गोरखामा पनि यस्ता ठेकेदारहरु नभएका होइनन् । २०६८ सालमा ठेक्का लिएर काम नगर्ने ठेकेदारहरु पनि छ । अब तस्वीर टाँस्ने मात्र होइन, फलाना परियोजना, फलाना ठेकदार, म्याद यति, कार्यप्रगति यतिजस्ता बोर्ड पनि टाँसिदिनुपर्छ । सरकारले कानुन बनाएर क्षतिपूर्ति नअसुलुन्जेल जनताले यसरी नै भद्र दबाब दिइरहनुपर्छ ।

गोरखा– फिनाम सडक अलपत्र बनाउने को हुन् ?, बारपाक सडक अलपत्र बनाउने को हुन् ? छ वटा पुल अलपत्र बनाउने को हुन् ? यी सबै ठेकेदार पत्ता लगाएर सभ्य ढंगले दबाबमुलक कार्यक्रम गर्नु मनासिब हुन्छ ।

प्रतिक्रिया दिनुहोस्