समन्वयको अभावमा वजेट फ्रिज
गोरखामा गत आर्थिक वर्ष संघीय र प्रदेश सरकारले विनियोजन गरेकोमध्ये झण्डै १३ अर्ब रुपैया खर्च हुन सकेन । वजेट फिर्ता हुनु वा खर्च हुन नसक्नुलाई वजेट फ्रिज भएको भनिन्छ । वजेट फ्रिज हुनुका अनेक कारण हुन्छन् ।
विशेष गरि तालुक मन्त्रालयले तल्लो निकायलाई वजेट अख्तियारी पठाउनै ढिला गरिदिएपछि तोकिएको समयभित्र विनियोजित वजेट खर्च हुन नसक्ने अवस्था आउँछ । यसबाहेक गोरखाकै हकमा भने स्थानीय, प्रदेश र संघविचको समन्वयको अभाव, विकास योजनाका लागि आवश्यक पर्ने नदिजन्य सामग्रीको बेलैमा बन्दोबस्त नहुनु जस्ता कारणले समयमै आयोजनाहरुको काम हुन नसक्दा वजेट खर्च नभै फिर्ता भएको देखिन्छ । फिर्ता भएको वजेटको ठूलो हिस्सा बूढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा र भूकम्पपीडितको अनुदान रकमले ओगटेको छ ।
त्यसो हुनाले विकासका काम बेलैमा हुन नसक्दा पाएको पैसा पनि फिर्ता भयो भनेर त्यति धेरै चिन्तित हुनुपर्ने अवस्था छैन । तर वजेट फिर्ता हुनुले हाम्रो खर्च गर्ने क्षमतामा पनि प्रश्न उठ्छ । आयोजना छनोटका आधार पालना नहुने, आयोजनाहरू योजनाबद्ध ढंगले सञ्चालन नहुने, पर्याप्त बजेट उपलब्ध नहुने, आयोजना सञ्चालनमा ढिलाइ हुने जस्ता कारण पनि विकास वजेट खर्च हुन सकेको छैन । साथै, जनशक्तिको अभाव, जिम्मेवार कर्मचारीको निरन्तर फेरबदल जस्ता कारणले पनि विकास अयोजनाले गति लिन सक्दैनन् र वजेट फिर्ता हुने गर्छ । आगामी वर्षहरुमा यसतर्फ ध्यान दिनु जरुरी छ ।




