
सडकमा लगानी, बालुवामा पानी
सडकले नै समृद्धि ल्याउने कुरामा दुईमत छैन । तर गोरखाका अधिकाँश सडक वर्षासँगै हिलाम्मे भएका छन् । स्थानीय तहले बनाएका शाखा सडकको त कुरा छोडौं, जिल्लाका मुख्य सडकहरु पनि वर्षाका कारण राम्रोसँग सञ्चालन हुन सकेका छैनन् ।
स्थानीय सरकारले धमाधम ग्रामीण सडक निर्माण गर्दा एकातिर बजेटको दुरुपयोग भईरहेको छ भने अर्को तिर दुर्घटनाको जोखिम पनि बढिरहेको छ । दिर्घकालीन योजना विना नै निर्माण भईरहेका सडक बर्ष दिन पनि काम नलाग्ने अवस्थामा छन् ।
जिल्लाका पहाडी क्षेत्रमा बनाइएका सडक वर्षाका कारण बगेर गएका छन् । ग्रामीण सडक निर्माणकै लागि एउटै योजनामा लाखौं रुपैया वजेट बिनियोजन गरिएको छ । तर बनेका अधिकाँश सडकको अवस्था भने दयनीय छ । योजना विना नै निर्माण भईरहेकाले सडकहरुमा आवतजावत गर्न त समस्या छ नै सार्वजनिक सवारी साधन चलाउन कसरी सम्भव होला भन्ने अवस्था छ । सडकका योजना ल्याएर कतिपय जनप्रतिनिधिहरुले आफ्नै लगानीमा खरिद गरिएका वा आफ्ना आफन्तका डोजरलाई काम दिलाएका छन् ।
प्राविधिक मापदण्ड विपरित बनेका यस्ता सडकमा बर्षेनी मर्मतका लागि निर्माण गर्दाको भन्दा दोव्वर बजेट विनियोजन गर्नुपर्ने अवस्था पनि देखिने गरेको छ ।
यी तमाम विकृतिलाई कम गर्नुपर्ने जरुरी त छँदैछ, अब वर्षा सकिँदै जान थालेकाले बनेका सडकलाई मर्मत गरि सवारी साधन सञ्चालनयोग्य बनाउनु अहिलेको आवश्कता हो ।




