
विकास निर्माणको काम समयमै ठेक्का गर
‘दिन उजेली सुती बिताई, रात उजेली बिस्कुन सुकाइ’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्न उद्दत छन् हाम्रा संघीय, प्रदेश र स्थानीय सरकार । साउन लागेदेखि नै नयाँ आर्थिक बर्ष लाग्यो तर भदौ आधाआधी बितिसक्दा पनि नयाँ आर्थिक बर्षको कामको थालनी भएको छैन ।यतिबेला बिभिन्न कार्यालयका कर्मचारीको ‘बिजिनेस’ छैन । अहिले नै धमाधम ठेक्का लगाउने, असोजतिरबाट काम धमाधम भयो भने हिउँदमै काम सकिन्छ । फुर्सदमा भएको कामको गुणस्तर पनि राम्रो हुन्छ । कामदार पनि प्रसस्त पाइन्छ । निर्माण सामग्री पनि प्रसस्त पाइन्छ । कम लागतमा काम हुन्छ । अनुगमन गर्ने, बिल फस्र्यौट गर्ने समय पनि पर्याप्त हुन्छ । तर जब राती बुढी ताती भने झै जब जेठ लाग्छ, तब ठेक्का खुल्छ । अनि ठेकेदारले कामदार पनि पाउँदैनन्, निर्माण सामग्री पनि पाइँदैन । बर्षात सुरु हुन्छ । अनुगमन गर्नेलाई पनि यता गर्ने कि उता गर्ने हुन्छ । अनि ‘ब्यस्तता’ देखाएर अस्वस्थ हिसाव मिलान हुनेगर्छ । नभ्याइएको भन्दै कतिपय काम ठेकेदारले काम नगरी बजेट फ्रिज गरिदिन्छन् । सम्पन्न भएको कामको पनि गुणस्तर हुदैन । गुणस्तरहीन काम भए पनि गुणस्तरहिन भन्दै बिल पास नगरेको रेकर्ड प्राय भेटिदैन ।लुकाएर कुरा लुक्दैन । अहिलेका सबै नागरिक सचेत छन् । अहिलेसम्मको अभ्यास यस्तै हो भनेर सबैले थाहा पाएका छन् । यति हुँदा पनि नयाँ पुस्ताका जनप्रतिनिधि के भएका ? किन सच्याउने प्रयास गर्दैनन् ? अब त यथासमयमा काम सुरु हुनुप¥यो ।




