| आइतवार, कार्तिक २२, २०८३

गोरखा र नुवाकोटमा पुनर्निर्माणका लागि भारतले दियो २.४५ अर्ब

दरौंदी ः नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक बुधबारदेखि काठमाण्डौमा सुरु भएको छ ।
दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन र दुई देशबीच देखिएका समस्या समाधान गर्न संयुक्त आयोगको बैठक बसेको हो ।
बैठकमा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व भारतीय विदेश मन्त्री एस जयशंकरले गरेका छन् भने नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेका छन् । बैठकका क्रममा भारत सरकारले नेपाललाई भूकम्पपछिको पुन र्निमार्णका लागि २ अर्ब ४५ अर्ब नेपाली रुपैयाँ सहयोग उपलब्ध गराएको छ । दुई देशका परराष्ट्र मन्त्रीको उपस्थितिमा भारतीय राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रिय पुनर्निमाण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई चेक हस्तान्तरण गरे । भारत सरकारले उपलब्ध गराएको त्यो रकम नुवाकोट र गोरखामा पुनर्निमाणका लागि खर्च गरिनेछ । भारतले ०७२ को भूकम्पपछिको पुननिर्माणका लागि १ खर्ब सहयोग गर्ने घोषणा गरेको थियो । जसमा २५ अर्ब अनुदान र ७५ अर्ब ऋण रहेको छ ।
त्यस्तै भारत सरकारले तराई भेगका सडक स्तरोन्नतिका लागि ८० करोड भारतीय रुपैयाँ पनि उपलब्ध गराएको छ ।यस्तै नेपाल भारत बीच खाद्यबस्तु तथा तरकारीलगायतका बस्तुहरुको उत्पत्ति प्रमाणपत्र र गुणस्तर प्रमाणपत्र र स्वच्छता प्रमाणपत्र दुवै देशमा मान्य हुनेगरी सम्झौता भएको छ । भारतको खाद्य सुरक्षा हेर्ने प्राधिकरण र नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्झौतामा हस्ताक्षर गरेका छन् । विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरुले आफ्नो देशको आधिकारिक प्रयोगशालामा जाँच गरि गुणस्तर प्रमाणपत्र प्राप्त गरेका खाद्य बस्तु तथा उपभोग्य सामग्री सीमा नाकामा परीक्षण गर्नु गराउनु पर्दैन । संयुक्त आयोगको बैठक बिहीबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्