बसपार्क क्षेत्रमा सडक बत्ती खोइ ?
गोरखा बसपार्कमा सडकको दुवै छेउछाउमा केही बर्षअघि सडक बत्ति राखिएको थियो । सडकको दुवै छेउमा क्यारी बनाएर सडक बत्तिसमेत त्यहाँ जडान गरेर बाल्ने गरिन्थ्यो । यसले रातमा सडकको दृष्य मनमोहक देखिन्थ्यो ।
तर केहीसमयदेखि प्रविधिमा आएको खराबीले दुवै क्षेत्रको बत्ति नबल्ने भएको छ । नगरपालिकाका मेयर राजनराज पन्तका अनुसार सडक आसपासका घरघरमा बत्ती जडान गरिएको छ । सडक बत्तीको काम त्यसैबाट चलाइएको छ ।
कामचलाउ त भयो, उज्यालो त भयो, तर नगरको सौन्दर्य ?
घर भएको ठाउँमा त बत्ती बल्यो, बसपार्कबाट उँभो लागेपछि वीपीचोकसम्मको अध्यारोलाई कसरी निर्मुल पार्ने ? उपाय छैन । बस्ती नभएको ठाउँ, अनि अँध्यारो पनि । यस्तो ठाउँमा सुरक्षा संवेदनशीलताको दृष्टिकोणले जोखिम छ । अपराधकर्म गर्नेलाई भागेर लुक्ने सुरक्षित ठाउँको रुपमा यसलाई प्रयोग गर्ने खतरा पनि छ ।
बसपार्क क्षेत्रमा बत्ती बिग्रिएपछि नगरपालिकाको सामु एउटा अवसर छ । अब बत्ती ब्यबस्थित बनाउनु त अवश्यै पर्छ, त्यसबेला केन्द्रीय प्रशारणको लाइन नजोडी खेर गइरहेको सौर्यउर्जाको प्रयोग गरी बत्ती बाल्ने प्रविधि जोड्नु पर्छ । यसो गर्दा बत्ती पनि बल्ने, खेर गइरहेको सौर्य उर्जाको प्रयोग पनि हुने, केन्द्रीय विद्युत बचत पनि हुने, चौतर्फी प्रसंसा पनि हुने । यो वुद्धिमानी कदम चाल्नु उपयुक्त हुन्छ । यस्तो प्रविधि महंगो हुनसक्छ, तर दीगो विकासका लागि सहायक हुनेछ ।




