| सोमवार, कार्तिक २३, २०८३

मान्बुको पहिरो नियन्त्रणको पहल गर

केहीदिन अघि गोरखामा ठूलो बर्षा भयो । एक दिनको पानीले बिभिन्न ठाउँमा पहिरो गयो । विशेष गरी मान्बुमा पहिरोको समस्या देखिएको छ । मान्बुको धोरतमा पहिरोका कारण छ घर बिस्थापित भए । त्यसपछि मान्बुकै माझगाउँ भन्ने ठाउँमा पहिरो आयो । माझगाउँ क्षेत्रका एक धन्सार र पाँच गोठ पनि जोखिमका कारण बिस्थापित भए । टेपचेत टोल र फर्सीटोलका २० घर जोखिममा परेका छन् ।
गतबर्ष श्यामचेतमा ठूलो पहिरो आयो । करिब सयघर बिस्थापित भए । दिनभर मेलापातमा काम गर्ने, रातको समयमा छिमेकी गाउँमा गएर बास बसेर बर्खा काटे ।
अहिले त्यस्तै ठूलो पहिरो माझगाउँमा गएको छ । माझगाउँभन्दा करिब २० मिटर नजिक पहिरो आइसकेको स्थानीयबासी बताउँछन् । केहीबेर पानी प¥यो भने गाउँमै पहिरो आउने र गाउँ बग्ने स्थानीयबासीको त्रास छ । यसका लागि जिल्लाका सरोकारवाला निकाय(विपत व्यबस्थापन समिति, स्थानीय सरकार, रेडक्रस, सामाजिक संघसंस्था)ले त्यहाँको अबस्थाको बारेमा जानकार हुनुपर्छ । त्यहाँका बासिन्दाको बारेमा जानकार हुनुपर्छ । त्यहाँको पहिरोका कारण गाउँले त्रासमा रहेका छन् । उनीहरुलाई सुरक्षित रहन आव्हान गर्नुपर्छ । सुरक्षाको वातावरण मिलाउनु पर्छ । त्रासैत्रासमा बाँचेकालाई ढाडस, आत्मबल बढाउनुपर्छ । पहिरो नियन्त्रणका लागि पहल गर्नुपर्छ । तारजाली लगाएर अथवा अन्य कुनै बिकल्प अपनाउनुपर्छ ।
गतबर्ष श्यामचेतको पहिरोको क्षति कसरी न्यूनिकरण भयो, त्यो अध्ययन गरी त्यही विधिअनुसार नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ । स्थानीयबासीले पनि पर्याप्त सुरक्षा ब्यबस्था मिलाउनुपर्छ । जोखिमबाट जोगिन पहल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्