| सोमवार, कार्तिक २३, २०८३

सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही होओस्

गोरखा नगरपालिका १० को डुम्रेथुम कृषि सहकारी संस्थाका अध्यक्ष मैतबहादुर तामाङले सहकारीका सदस्यहरुको रकम हिनामिना गरेको भन्ने आरोप छ । नगरपालिकाको न्यायिक समिति तथा जिल्ला प्रहरी कार्यालयमा हाजिर हुँदा उनले आफूले संस्थाको करिब ४० लाख रुपैयाँ मासेको स्वीकार गर्दै यथासीघ्र तिर्ने प्रतिवद्धता गर्दै रिहा हुने गरेका छन् । तर प्रतिवद्धता गरेको लामो समय भइसक्दा पनि एकजनाको रकम पनि फिर्ता नगरेको सदस्यहरु दाबी गरिरहेका छन् । गुहार्नुपर्ने ठाउँजति सबै गुहारिसके । प्रशासन कार्यालयले हाजिर हुन आदेश दिँदा पनि उनले आलटाल गरिरहेका छन् ।
२४ जना सदस्यहरुको २५० रोपनी जग्गाको लालपूर्जा राखेर सहकारीले सांग्रीला वैंकबाट एक करोड रुपैयाँ कर्जा लिएको थियो । १४ प्रतिशत व्याजदरमा कर्जा लिएर १६ प्रतिशतमा कर्जा प्रबाह गर्ने र दुईप्रतिशत मुनाफा खाने प्रलोभनले कर्जा लिएका थिए । सो रकममध्य ३० लाख अध्यक्ष र ७० लाख अन्य सदस्यले लिएका थिए । २०७२ सालमा लिएको कर्जा अहिलेसम्म अध्यक्षले भुक्तानी गरेका छैनन् । कर्जा तथा किस्ता तिर्न भनेर अन्य सदस्यले अध्यक्षको हातमार्फत पठाएको रकम अध्यक्षले बीचैबाट हिनामिना गर्ने गरेको गाउँलेहरु बताउँछन् ।अहिले बैकले ती जग्गाहरु लिलाम गर्ने भन्दै सहकारीको नाममा धमाधम पत्राचार गरिरहेको छ । गाउँलेहरु भने अन्यायमा परेको भन्दै प्रशासन, प्रहरी धाइरहेका छन् ।
स्थानीय प्रशासनले अब ती अध्यक्षलाई तत्काल हाजिर गराई कारबाही प्रक्रिया अघि बढाउनु पर्छ । सर्वसाधारण, निमुखा जनता अन्यायमा परेको टुलुटुलु हेरेर बस्नु हुदैन ।

प्रतिक्रिया दिनुहोस्