
कसरी गर्ने स्वास्थ्य बीमा, के पाइन्छ सेवा सुविधा ?
स्वास्थ्य बीमा वार्षिक कार्यक्रम हो। सरकारको नीति तथा कार्यक्रम, बजेटको घोषणा,विगतमा भएका विभिन्न किसिमका प्रगतिको समीक्षा गरेर वार्षिक कार्ययोजना तय हुन्छ।
यसपालि पनि हाम्रो वार्षिक कार्ययोजना तयार भइसकेको छ। त्यही कार्ययोजनाअनुसार नै सबै कुरा अघि बढ्छ।
गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधरणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता पनि गर्ने स्वास्थ्य बीमाको उद्देश्य हो। सकेसम्म पायक पर्ने ठाउँबाट स्वास्थ्य सेवा प्रवाह गर्नेलगायतका लक्ष्य यसमा अन्तर्नि्हित छन्।
यो पारिवारीक बीमा कार्यक्रम पनि हो। सर्वव्यापी सिद्धान्तअनुसार हाम्रा ऐन कानुनमा रहेको प्रावधान र प्रचलित कानुनलाई दृष्टिगत गरेर वार्षिक कार्ययोजना अनुसार यो कार्यक्रमलाई अगाडि बढाइएको छ।
२५ चैत २०७२ बाट सुरू भएको यो कार्यक्रमको ट्रयाक रेकर्ड धेरै लामो छैन। कैलालीबाट सुरूआत गरिएको हो। त्यसपछि बाग्लुङ र इलाममा लागू गरियो। अहिले ४६ जिल्लामा यो कार्यक्रम सुरू भएको छ। आगामी वर्षसम्म ७७ वटै जिल्लामा पुग्ने प्रयास छ। अहिलेसम्म हामीले १८ लाख १० हजार नागरिकमा बीमा पुर्रुयाएका छौं। ५ लाख २५ हजार परिवारलाई समेटिएको छ। त्यसमध्ये ४ लाख १५ हजार अति विपन्न परिवार छन्। स्वास्थ्य बीमा अहिलेसम्म ५३ प्रतिशत महिला र ४७ प्रतिशत पुरूष सहभागी भएका छन्।
कसरी गर्ने बीमा
कुनै जिल्लामा बीमा कार्यक्रम सुरू गर्नुभन्दा पहिला केही प्रारम्भिक कुरा गर्नुपर्ने हुन्छ। जुन जिल्लामा कार्यक्रम छ बीमाका लागि त्यो जिल्लाका सेवाप्रदायक संस्था, नेपाल सरकार मातहत र निजी क्षेत्रलाई समेत सहभागी गराइन्छ।
स्थानीय तहका हरेक वडामा एक जना दर्ता सहयोगी छनोट हुन्छ। जो हाम्रो बीमा एजेन्ट र अभिकर्ता पनि हो। ती सहयोगी घरघरमै जान्छन्। तथ्यांक संकलन गरेर बीमामा सर्वसाधरणलाई आवद्ध गराउने काम गर्छन्।
त्यही तथ्यांककै आधारमा बीमा हुन्छ भने बीमित भएकै आधारमा कार्ड पनि वितरण हुन्छ। त्यसको केही समयपछि सेवा लिने काम सुरू हुन्छ।
वार्षीक १ लाखको सेवा पाउने
बीमा बापतको रकम कुनै रोग विशेषलाई नभई साधन र स्रोतले भ्याएसम्म सबै प्रकारका रोगलाई दिइन्छ। ओपीडी सेवा , ल्याब ,भर्ना,औषधीदेखि लिएर फार्मेसी परामर्शलगायत सेवा पाइन्छ। यो योगदानमा र आपसी समझदारीमा आधारित कार्यक्रम भएको हुनाले केही पैसा उठाउनु पर्ने हुन्छ। अहिले हामीले कार्यक्रमको स्थायित्वका लागि सक्ने परिवारबाट वार्षिक ३ हजार ५ सय लिएका छौं। त्यो बापत वार्षिक १ लाख रुपैयाँसम्मको सेवा दिन्छौं। हामीले ५ जनाको परिवारलाई एउटा इकाइ मानेका छौं।
५ जनाभन्दा बढी सदस्य रहेको हकमा प्रति सदस्य अतिरिक्त ७ सय खर्च गरेर वार्षिक १ लाखमा क्रमशस् २० हजारका दरले औषधी उपचारको सुविधा थपिँदै जान्छ। जेष्ठ नागरिक छन् भने प्रतिजेष्ठ नागरिकले १ लाखको उपचार सेवा पाउँछन्, त्यसका लागि कुनै योगदान गर्न पर्दैन।
यदि कुनै परिवार अति गरिबको सूचीमा छ भने उसले पनि योगदान गर्न पर्दैन। उसको तर्फबाट गर्ने योगदान नेपाल सरकार आफैंले गर्छ।हरेक कुराको एउटा सीमा हुन्छ। कुनै कार्यक्रममा सरकारले असीमित सेवा सुविधा दिने हो भने राज्यको ढुकुटीमा रहेको पैसाले पनि धान्न गाह्रो हुन्छ।राज्यले बिपन्न र गरिबका लगि छुट्टै प्याकेज दिने प्रयास गरेको हो। यो सामाजिक न्यायमा आधारित कार्यक्रम हो। संविधानले पनि व्यवस्था गरेको छ। आधारभुत स्वास्थ्य सेवा निःशुल्क छ। त्योभन्दा माथिका सेवा दिन यो योजना ल्याइएको हो। यसको स्थायित्वका लागि पनि यसले असीमित सेवा सुविधा दिनु हुँदैन। स्वास्थ्य बीमा कार्यक्रम लागु भएका जिल्लाका हरेक वडामा दर्ता सहयोगी छन्। उनीहरू उपलब्ध नभए वडामा गएर, सम्पर्क गरेर बिमा कार्यक्रममा सहभागी हुन सकिन्छ। अहिलेसम्म सहभागिता न्यून नै छ।
स्वास्थ्य बीमा दाबी अरूभन्दा सहज छ।
अरू बीमामा जो बीमित हो ऊ आफैं दाबी गर्न जानुपर्छ। यसमा जुन सेवा प्रदायक संस्थाबाट बीमितले सेवा लिएको छ त्यो सेवा प्रदायक संस्था आफैंले दाबी गर्छ।
बीमितलाई कार्डको व्यवस्था गरिएको हुन्छ। त्यसैले सेवाप्रदायक संस्थाले रकम लिन्छ। कार्डमा पैसा हुँदासम्म सेवा दिन्छन्। के सेवा दिएको हो भन्ने सेवा प्रदायक संस्थाले स्वास्थ्य सेवा बोर्डमा दाबी गर्छ। त्यसको आधारमा सेवा प्रदायक संस्थाले रकम पाउँछ।अहिले कुल बीमितमध्ये ३५ प्रतिशतले सेवा लिएका छन्। कुनै कार्यक्रम आफैंमा पूर्ण हुँदैन। यो हाम्रा लागि नयाँ अभ्यास हो। सबैको स्वास्थ्य राम्रो होस् भनेर कार्यक्रम ल्याइएको हो।
(लेखक स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक हुन । साभार ः सेतोपाटी।)




