| सोमवार, कार्तिक २३, २०८३

तस्करका मालिकलाई कारबाही हुने कहिले

आन्दोलन, युद्धको कुरा गरौं, फ्रन्ट लाइनमा सिधासाधा नागरिक हुन्छन् । लाठी खाने, गोली खाने उनै हुन्छन् । वारेण्ट, गिरफ्तारी, जेल, नेल उनैले भोग्छन् ।

ठूला नेताहरु शासककै सम्पर्कमा हुन्छन्, स्वदेश, विदेशमा गोप्य रुपमा वार्ता चलिरहेको हुन्छ । आन्दोलन सफल हुन्छ, पदमा ठूला नेताहरु पुग्छन् । सर्वसाधारणहरु उही पुरानै हालतमा फर्कन्छन् । अबस्था उस्तै हुनेछ । यथाअबस्थाबाट परिबर्तन त नेताको मात्रै    हुन्छ ।

चोरी, तस्करीका घटनामा पनि पक्राउ पर्ने, दण्ड जरिबाना, जेल सजायँ, कारबाही जहिल्यै भरियाले नै भोग्छन् । तस्करीको काम सुरक्षित तबरले सफल भयो मालामाल हुने लगानीकर्ता हो । करोड, अर्ब कमाउने मालिक नै हो ।

भरियाको हातमा पर्ने केही हजार मात्र हो । यथाअबस्थामा परिवर्तन त ठूलाको नै हुन्छ । चोरी, तस्करीको सामानका लगानीकर्ता नेपथ्यमा हुन्छन् ।

त्यसैले गरिबको मुखमा सँधै यही गीत गुञ्जिरहन्छ ः ‘मनै फुक्लने, हामी भ¥याङ साहु उक्लने ।’ गरिबको भ¥याङ चढेर साहु यति उचाइमा पुगिसकेको हुन्छ, कि खोज्नेले पनि उनीहरुको छेउटुप्पो भेट्टाउँदैनन् । भेटिने उनका सहयोगीहरु, भ¥याङहरु, भरियाहरु मात्र हुन् ।

हालै गोरखामा १६ किलो सुन भेटियो । सुनका भरिया धनकमल पक्राउ परे । केही हजार दिने आश्वासन पाएका धनकमल एक महिना लुक्दा पनि केहीसीप नलागेर अन्ततः फेला परे ।

करिब नौ करोड रुपैंयाको सुनका धनीको छेउटुप्पो फेला परेको छैन । नागरिक हो वा अनागरिक हो भन्नेसम्म पनि पत्तो छैन । त्यस्तो समय कहिले आउला, जब ठूला अपराध गर्नेलाई पनि दण्ड हुने ?

प्रतिक्रिया दिनुहोस्