
प्रहरीको पछिल्लो गतिबिधि सकारात्मक
जिल्ला प्रहरी कार्यालय गोरखाको पछिल्ला गतिबिधिले बजारबासीलाई केही फरक अनुभूति गराएको छ । बिगत पाँचबर्ष यता सुस्तप्राय रहेको प्रहरी गतिबिधिले हालै तिब्रता पाएपछि धेरै अनियमितताहरु कारबाहीमा परेका छन् ।
अझै हेर्नुपर्ने कुरा धेरै छन् । पाँचबर्षअघिसम्म प्रहरीले हेल्मेटको फिता कसे, नसकेको समेत नियमन गर्ने गथ्र्यो । दैनिक आरएससीसी चेकिङ हुन्थ्यो । तर त्यसयता त्यस्ता सुक्ष्म कुरा त परै जाओस्, मोटरसाइकलमा तीन जना सवार भएको, मापसे गरेर सवारी चलाएको, हेलमेट नलगाई चलाएको जस्ता चेकिङ समेत हुन छाडेको थियो । चेकिङ कडा हुन थालेपछि पाँचबर्षअघि धेरै चोरीका मोटरसाइकलहरु पक्राउ परेका थिए । धेरै बाइकहरु गण्डकीमा फ्याँकिएका समेत थिए तर त्यसयता यस्ता चेकिङ हुन छाडेका थिए ।
सवारी चेकिङको मात्र सवाल होइन, कपाल पालेर दादागिरी गर्दै हिड्नेहरु कपाल काटेर टोपी लगाएर हिड्ने अबस्थामा पुगेका थिए । बर्दी लगाएको प्रहरीलाई धाप लगाउनेहरु प्रहरीलाई मर्यादा गर्ने भएका थिए । तर त्यस यता प्रहरीको जिल्ला नेतृत्वलाई समेत धाप लगाउने भएका थिए । पसल अगाडि सडकसम्म आउने गरी साइनबोर्ड राख्ने, सडकसम्म आउने गरी घरको ट्रष्ट हाल्ने काम बन्द थियो । तर ती सबै पुन राखिएको छ । हेर्नुपर्ने कुरा धेरै छन् तथापि अहिलेको सुरुवाती गतिविधि सकारात्मक छ ।




