धार्चेमा व्यवसायिक बनोस् स्याउखेती
धार्चे गाउँपालिकामा यसबर्ष स्याउ खेती सुरु गरिएको छ । सहरी विकास तथा भवन कार्यालय गोरखाले धार्चेका बासिन्दाको आर्थिक स्तर उकास्ने उद्देश्यले स्याउखेतीको सुरुवात गरेको हो ।
गत चैत महिनामा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले धार्चेका सात वटै वडामा प्रत्येक वडामा दुईसय थानका दरले स्याउका विरुवा वितरण गरेका थिए । तीमध्य कतिपय वडामा स्याउ फलेका छन् । पाकेका छन् । कतिपय वडामा असिनाले सखाप पारेको छ ।
इटलीबाट ल्याइएको प्रतिविरुवा ११५० पर्ने विरुवा गाउँलेलाई वितरण गरिएको हो । यसका लागि सरकारले सहरी विकास तथा भवन कार्यालयमार्फत १६ लाख रुपैयाँ खर्च गरेको छ ।
कृषि समूहहरुले स्याउ खेती गरेका हुन् । उनीहरुले खेतीका लागि केही लगानी पनि गरेका छन् । यसबर्ष लगानी उठ्ने गरी उति राम्रो नभए पनि अर्काेबर्ष व्यवसायिक उत्पादन हुने गरी खेती गर्ने किसानहरु बताउँछन् ।
रोपेको तीन महिनामै स्याउ फलेको छ, पाकेको छ भन्दैमा उत्ति खुशी हुने कुरा छैन । स्याउको गुणस्तर कस्तो छ ? यति सानो बोटमा फल्ने स्याउको ब्यबसायिकता कस्तो छ ? टिकाउ कत्तिको छ ? यस बिषयमा पनि अध्ययन गर्नु जरुरी छ । अझै धार्चेमा उत्पादन भएको स्याउले बजार पाउँछ कि पाउँदैन । उपभोक्ताले धार्चेको स्याउ मन पराउँछन कि पराउँदैनन् सबै कुराको अध्ययन गर्नुपर्छ ।
यी सबै कुरा सकारात्मक भयो भने धार्चेका लागि स्याउ खेती बरदान हुनेछ । जीविकोपार्जन शीर्षकमा धार्चेका लागि लगानी गर्ने दातृ निकायहरुले स्याउका लागि लगानी गरे पनि हुने छ ।




