| सोमवार, कार्तिक २३, २०८३

वैंकका कारण सर्वसाधारणले सास्ती नपाउन्

संघीय गणतान्त्रिक गणतान्त्रिक सरकार स्थापना भएपछि गोरखाका ११ वटै स्थानीय तहमा कुनै न कुनै वैंकले शाखा सञ्चालन गरे । दुई दुर्गम गाउँपालिका चुमनुब्री र धार्चेमा पनि ढिला गरी वैंकको शाखा बिस्तार भयो । चुमनुब्री गाउँपालिकामा कुमारी वैंक र धार्चे गाउँपालिकामा सिभिल वैंक स्थापना भयो ।
गाउँकै बैंकबाट आर्थिक कारोबार गर्न पाइने आशामा गाउँलेहरु दंग भए तर यत्तिका समय भइसक्यो, यी दुवै वैंकले गाउँपालिकाको काम गरेका छैनन् । गाउँपालिकासंग करोडौं रुपैंयाको कारोबार गर्नुपर्ने हुन्छ । इन्टरनेटले काम नगरेको र ठूलो परिमाणमा रकम मौज्दात नभएको लगायतका कारण देखाएर वैंकले गाउँपालिकालाई सेवा दिएको छैन । जसले गर्दा उपभोक्ता समितिका पदाधिकारीलाई हुनुसम्म सास्ती भएको छ ।
गाउँको वैंकमा आर्थिक कारोबार गर्न नपाएपछि उपभोक्ता समितिका अध्यक्ष, सचिव, कोषाध्यक्षहरु बर्खाका बेला बुढीगण्डकीको भेलबाढी पहिरोसंग जुध्दै सातदिनसम्म पैदल हिडेर सदरमुकाम आइपुग्नु पर्ने बाध्यता छ । सदरमुकामका होटलहरुमा तीनचार दिनसम्म बस्नु पर्ने, खल्तीको पैसा स्वाहा पर्नुपर्ने अबस्था छ । कि लुकिछिपि योजनाको रकम अनाधिकृत रुपमा प्रयोग गर्र्नुपर्ने अबस्था छ ।
धार्चेतिर यतिबेला धमाधम कोदो रोप्ने बेला भएको छ । चुमनुब्रीमा पनि यस्तै काम हुँदाहुन् । आउन, जान बस्न गरी करिब २० दिन योजना फस्र्यौटका लागि खर्च गर्नुपरेको छ । यदि वैंकले गाउँपालिकामा नै सेवा दिएको भए यति धेरै समय र रकम खर्च हुने थिएन । त्यसैले अब अर्को बर्षदेखि ती वैंकहरुले गाउँपालिकाको आर्थिक कारोबार गरोस्, ताकि सर्वसाधारणले सास्ती नपाउन् ।

प्रतिक्रिया दिनुहोस्