| मङ्लबार, भदौ १, २०८३

भच्चेक सडक पिच जिल्लाबासीका लागि नै सुखद समाचार

 

२०५६ सालमा अँबुवादेखि भच्चेकसम्मका लागि सडक निर्माणको काम थालनी भएको थियो । द्रव्यशाह मार्ग भनेर नामाकरण पनि गरिएको थियो । सडक निर्माण आरम्भ भएको ठ्याक्कै २० बर्षपछि अहिले २०७६ सालमा सो सडक कालोपत्रे भएको छ । तर अँबुवा भच्चेक सडक कालोपत्रे भएको होइन । लुँटेलभञ्ज्याङदेखि भच्चेकसम्मको सडक कालोपत्रे भएको हो ।भूकम्पीय आपतकालीन सहायता परियोजना अन्तर्गतको सो ३० किलोमिटर सडक कालोपत्रे भएको हो । एशियाली विकास वैंकको ७० करोड रुपैंया ऋण सहयोगमा सो सडक कालोपत्रे भएको हो । लामा अमर जेभी र लामा कन्स्टूक्शनले सडक पिच गरेका हुन् । काम सुरु गरेपछि निरन्तर काम गरेर निर्धारित समय गुज्रेको केही समयभित्र काम सम्पन्न गरेका हुन् । सडक पिच भएपछि स्थानीयबासी खुशी हुनु स्वभाविक हो ।

खुशी हुनुका धेरै कारण छन् ः गतबर्ष चैतदेखि नै सो सडकमा बस गुड्न सकेका थिएन । अब गाउँसम्म बाह्रै महिना बस लगायतका सवारी साधन चल्न सक्ने भन्दै उनीहरु खुशी भएका हुन् । त्यस्तै अहिलेसम्म भच्चेक जानेले जीपको भाडा एक हजार तिर्ने गरेका थिए, अब भाडा पनि घट्ने भयो । खाद्यान्न लगायतका अत्यावश्यक सामानको भाउ घट्नेछ, टाढाटाढादेखिका पर्यटक अब सजिलै भच्चेक लगायतका गाउँ पुग्न सक्नेछन् । पर्यटन विकास हुनेछ । अलैंची तथा बिभिन्न जडिबुटीको ढुवानी सहज हुनेछ ।
एकै पटक ३० किलोमिटर सडक कालोपत्रे हुनु सिरानचोक र अजीरकोट गाउँपालिकाबासीका लागि मात्र होइन, गोरखाबासीका लागि धेरै खुशीको कुरा हो । सुखद समाचार हो । यसरी नै विकास निर्माणको काम भए जिल्लाको विकास टाढाको कुरा होइन ।

प्रतिक्रिया दिनुहोस्