सडक सपना तुहाउने ठेकेदारलाई कारबाही हुनुपर्छ
भूकम्पपछि एशियाली विकास वैंकको ऋण सहयोगमा सञ्चालित भूकम्पीय आपतकालीन सहायता परियोजनाले गोरखाको लुइँटेलभञ्ज्याङदेखि भच्चेकसम्मको ३० किलोमिटर र फिनामदेखि घ्याम्पेशालसम्मको १५ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लियो ।
लामोसमयसम्म काम हुन सकेन । बल्लतल्ल यसबर्ष काम सुरु भयो । लुइँटेलभञ्ज्याङ भच्चेक सडक कालोपत्रे गर्ने काम सम्पन्न भयो । दुईखण्डमा सुरु गरिएको फिनामदेखि घ्याम्पेशालसम्मको सडक कालोपत्रे गर्ने काममध्य एउटा खण्ड सकियो, अर्को खण्डको काम भने अलपत्र छ । ठेकेदारको लापार्बाहीले गर्दा निर्धारित समयभित्र काम नभएको हो । प्राविधिक कठिनाइको कारण हो भने लुइँटेलभञ्ज्याङ, भच्चेक सडकको काम कसरी सकियो ? घ्याम्पेशाल सडकको पनि अर्को खण्डको काम कसरी सम्पन्न भयो ? यसले ठेकेदारको कमजोरी औंल्याउँछ ।
भूकम्पपछि पीडितलाई राहत दिनका लागि प्राप्त सडक कालोपत्रेको काम अलपत्र पार्नु ठेकेदारको दण्डनीय काम हो । असार सातगतेभित्र सक्नु पर्ने १० किलोमिटर कालोपत्रेको काममध्य जम्मा चार किलोमिटर मात्र कालोपत्रे गरिएको छ । बाँकी सबै काम अलपत्र छ । निर्धारित समयभित्र नगरेपछि एडिबीले ऋण सहयोग नगर्ने सम्भावना पनि उत्ति नै छ । यदि यही कारण सर्बसाधारण आवतजावत गर्ने सडक कालोपत्रे भएन र बजेट समेत फिर्ता गयो भने त्यस्ता ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।
काम गर्ने ठेकेदारलाई पुरस्कृत र काम नगर्ने ठेकेदारलाई दण्डको ब्यबस्था गर्न सकेमा पनि काम अलपत्र पार्ने क्रममा न्यूनिकरण हुनेथियो । यस बारेमा सम्बन्धित कार्यालय, कार्यालय प्रमुखहरुले खुट्टा दह्रो टेक्नुपर्छ ।




