| बुधबार, भदौ २, २०८३

ढुंगा, गिटी, बालुवा उत्खनन गर्न पूर्ण निषेध होओस् ।

 

जिल्ला अनुगमन समितिले मेसिन लगाएर बालुवा उत्खनन गर्न रोक लगायो । ठेक्का पारेका व्यबसायीको चर्को अनुनय, बिनयपछि ठेक्का लगाएका स्थानीय तहले मेसिन लगाएर उत्खनन गर्न दिन जिल्ला समन्वय समिति र जिल्ला अनुगमन समितिलाई जोडबल गर्यो ।

लामो समयको गतिरोध र बारम्बारको जोडबलपछि जिल्ला अनुगमन समितिले केही दिनका लागि मेसिन लगाएर उत्खनन गर्न अनुमति दियो ।
त्यसपछि व्यबसायीहरुले बाहिर जिल्लाबाट समेत मेसिन झिकाएर ब्यापक रुपमा ढुंगा, गिटी, बालुवा उत्खनन गरे । कसैले सम्झौता भएभन्दा धेरै उत्खनन गरे, कसैले सम्झौता गरेको जति पनि उत्खनन गर्न भ्याएनन् ।

जसले ठेक्का पाएजति उत्खनन गर्न भ्याएनन्, उनीहरुले तोकिएको दिनभन्दा अरु दिनमा पनि मेसिन लगाएर उत्खनन गरे । कतिपय ठाउँमा निर्धारित परिमाण उत्खनन भइसके पनि भएको छैन भन्ने बहाना बनाएर मेसिन लगाएर उत्खनन गरे । प्रतिवन्धित काम भइरहँदा पनि जिल्ला अनुगमन समिति मुकदर्शक भयो ।
जेठ महिना अब सकिएको छ । उत्खनन गर्ने समयसीमा सकिएको छ । निर्धारित समयसीमा सकिए पनि बिभिन्न बहाना बनाएर अबैध रुपमा मेसिन लगाएर उत्खनन भए झैं अब असार लागिसके पनि उत्खनन हुनसक्ला ।

यसप्रति स्थानीय तह र जिल्ला अनुगमन समिति चनाखो हुनुपर्छ । आफ्नो पालिकाभित्र उत्खनन गर्न चिनजानका व्यबसायीप्रति कतिपय जनप्रतिनिधिहरु बिगतमा उदार भएको देखियो । स्थानीय सरकार नै नियम बिपरीत काममा तम्सिए भने नियन्त्रण कसले गर्ने ? त्यसैले स्थानीय सरकारले यसप्रति अनुदार भएर असार लागेपछि नदीमा मेसिन पस्न पूर्ण रुपमा बन्द गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्