परिवर्तनका लागि कसै न कसैको त्याग र तपस्या चाहिन्छ
गोरखा नगरपालिका ६ पोखराथोक, हाल सतिपिपल निबासी रीता परियार लामो समयको बेलायत बसाइपछि गृहनगर फर्केर आइन् । केही नयाँ काम गरेर समाजमा देखाउने उत्कट इच्छाले चलायमान बनेकी उनले छुवाछुत अन्त्य गर्न अभियान चलाउने निधो गरिन् । दुई पुरुषको साथमा महाकालीबाट मेचीसम्म पैदल यात्रा गर्न तम्सिइन् । गत चैत ३ गतेबाट यात्रा सुरु गरी उनले गत बैशाख ३० गते यात्रा सम्पन्न गरिन् । सो यात्राका लागि उनले ५४ दिन खर्च गरिन् र १३२८ किलोमिटर पैदलयात्रा गरिन् ।
बेलायतमा लामो समय बसेर फर्केकी उनीसंग सुखी जीवन बिताउने मनग्य स्रोत साधन छ र पनि समाज परिवर्तनका लागि घाम, पानी, हिलो, धुलो नभनी यात्रा गरिन् । यात्राको क्रममा सयौं गाउँ बस्तीमा पुगिन् र दलित समुदायको अबस्थाका बारेमा अध्ययन गरिन् । एक ठाउँको अबस्था बारे अर्को ठाउँमा सुनाइन् ।
अब उनको ध्येय छुवाछुत प्रथा अन्त्यका लागि अन्तर्राष्ट्रि स्तरको सभा नेपालमा गर्ने छ । त्यसैको तयारीमा ब्यस्त छिन् उनी ।
समाजमा नयाँ केही गर्न युवा अनुहारले दुख गर्न तयार हुनुपर्छ । कसैको पनि त्याग र तपस्या बिना परिवर्तन सम्भव हुन्न । अहिले यी युवा र युवतीहरुले थालेको प्रयासले सफलता पाओस् ।
यस्तै खालका नयाँ रचनात्मक काम गर्न हामी बीचबाटै कोही तयार हुनुपर्छ ।




