| आइतवार, कार्तिक २२, २०८३

सामाजिक बहिस्कार गर्नु न्यायसंगत होइन

सिरानचोक गाउँपालिका २ खमारीका खोपबहादुर बस्नेतको परिबारलाई स्थानीय २८ घरका बासिन्दाले गाउँबाट सामाजिक बहिस्कार गरेका छन् । २०७४ सालको बैशाख १५ गते बैठक बसेर माइन्यूट गरी उनीहरुलाई सामाजिक बहिष्कार गरेका हुन् । यदि निर्णय उल्लंघन गरी कसैले साथ र सहयोग गरेमा पाँच हजार रुपैंया जरिबाना गर्ने भनेर पनि निर्णय गरेका छन् ।
निर्णय गरेपछि उनीहरुले भातपानी, टिकोटालो, भारापर्म, लेनदेन, मलामी, जन्ती सबैमा बहिष्कार गरेका छन् । गाउँबाट एक्लिएपछि सो परिबारलाई सकस छ । त्यति मात्र होइन, बेलाबेला गाउँलेले डरधाकधम्की दिने गरेको कुट्ने सम्मको हर्कत गरेको बस्नेत परिबारको आरोप छ ।
उनीहरुले समाजमा बसेपछि निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गरेका छैनन् । गाउँलेले पच्चीसौंबर्षदेखि खाइरहेको पानीको मुहान छेकथुन गरेका छन् । पानीको मुहानलाई विधिवत दर्ता गर्न रोके । जसको कारण गाउँको खानेपानी योजना फिर्ता भयो । त्यस्तै पाइपमा ठेँडी ठोक्ने, पाइप काटिदिने गरेर गाउँलेलाई हैरान पारेका छन् ।
समाजमा नमिल्ने काम गरेका छन् । त्यसैले गाउँले आक्रोशित हुनु स्वभाविक छ यद्यपि लिखित निर्णय गरेर सामाजिक बहिष्कार गर्नु न्यायसंगत हुदैन ।
गाउँलेसंग मिल्न नसक्नु बस्नेत परिबारको गल्ती हो । लिखित निर्णय गरेर सामाजिक बहिष्कार गर्नु गाउँलेको गल्ती हो । गाउँमा अब न्यायिक समिति छ । सो समितिले न्याय अन्याय छुट्याएर सर्प पनि मर्ने, लौरी पनि नभाँचिने गरी निसाफ गर्नुपर्छ । आत्मासम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट कसैलाई बञ्चित गर्नु हुदैन ।

प्रतिक्रिया दिनुहोस्