सडकमा पानी चुहाउँदै बालुवा ओसार्दै
ढुंगा, गिटी, बालुवा उत्खनन, संकलन र ओसारपसारमा बिगत बर्षमा भन्दा यसबर्ष धेरै नै कडाइ भयो ।
मेसिन लगाएर झिक्ने नझिक्ने बारे बिबाद लम्बिँदा ठेकेदारले ठेक्का सम्झौता गरेको लामो समयसम्म उत्खनन गर्न पाएनन् । अन्तत ः केही दिनका लागि मेसिन लगाएर उत्खनन गरे ।
उत्खननमा अनियमितता गरेको आरोपमा यसबर्ष घ्याल्चोकका एक मजदुरविरुद्ध पहिलो पटक मुद्धा दर्ता भयो ।
अहिले उत्खनन बन्द भइसक्यो । घाटगद्दी भएका ढुंगा, गिटी, बालुवा ओसार्ने काम धमाधम भइरहेको छ ।
घरेलु तथा साना उद्योग विकास समितिले एक क्रसर उद्योग वन्द गराउने पहल पनि गरिरहेको छ ।
अहिले बालुवा ढुवानीको क्रममा भएको अनियमितताप्रति भने प्रशासन मौन छ । हरेक दिन आँबुखैरेनी गोरखा सडकमा तररररर पानी चुहाउँदै ट्रिपरले बालुवा ओसारिरहेका हुन्छन् ।
हरमटारीचोक, पेट्रोलपम्प लगायतका ठाउँमा सडक जीर्ण भएर सवारी साधन गुडाउन सकस भएको छ । हरमटारीचोकमा धुलो ओट्याएर पिच गर्ने काम भएको छ । जसमाथि गाडी गुड्दा धुलो उँडेर स्थानीय समस्यामा पर्ने गरेका छन् । यही अबस्थामा ट्रिपरले पानी चुहाउँदै दिनहूँ बालुवा ओसारिरहेका हुन्छन् । अन्य गतिबिधिलाई नियमन गर्ने प्रशासनले यस्तो गतिविधिलाई भने नियमन गरेको छैन । सडकको परम दश्मन भनेको नै पानी हो । तर यसरी पानी चुहाउँदै बालुवा ओसारिरहँदा पनि प्रहरी मौन छ ।
आँबुखैरेनी गोरखा सडकको आयु वृद्धि गर्ने हो भने पानी चुहाउँदै बालुवा बोक्ने ट्रिपरलाई यथासीघ्र नियमन गर्नुपर्छ ।




