| मङ्लबार, कार्तिक २४, २०८३

विकास निर्माणको काम किन अलपत्र ?

विकास निर्माणका कामको ठेक्का लिने र अनेक बहानामा अलपत्र पार्ने कुसंस्कार नेपालको पूर्वाधार विकासको चुनौतीका रुपमा रहिआएको छ ।

तर सरोकार भएका पक्षहरुले पहल गर्ने हो भने जे सुकै कारणले अलपत्र परेका काम पनि निर्माण पूरा गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, सोती खोला पुल ।

झण्डै ६ वर्षदेखि उक्त पुल निर्माण अलपत्र थियो । तर सम्बन्धित सरकारी कार्यालयले थोरै मात्रै पहल गर्दा पनि अहिले धमाधम पुल निर्माण भैरहेको छ । नेपालमा विकास निर्माणका काम अलपत्र हुनुमा प्राविधिक, आर्थिक र पेशागत कारणलाई प्रमुख मान्न सकिन्छ ।

उदाहरणका लागि, सडक बनाउँदा खानेपानी, विद्युत, दूरसंचार, ढल निकास, मुआब्जा क्षेत्र निर्धारण जस्ता असजिलालाई प्राविधिक कारण मान्न सकिन्छ । नीतिगत हिसावले न्यूनतम कवोल अंकलाई ठेक्का दिनुपर्ने कानुनी बाध्यता र पेनाल्टी लगाईसकेपछि जति समय लगाए पनि हुने कानुनी प्रावधान पनि दोषी छ ।
अब्यवस्थाका कारण राज्य, निर्माण व्यवसायी र उपभोक्ता समितिले गर्ने विकास निर्माणका कार्य सन्तुलित र प्रभावकारी हुन सकेको छैन । विकास निर्माणका काममा पेशागत असुरक्षा, अस्वस्थता तथा मुनाफामुखी दृष्टिकोणका कारण सामाजिक उत्तरदायित्व र पेशागत आचारसंहिता उल्लंघन बढ्न थालेको छ ।

विकास निर्माण हामी र हाम्रो लागि हो र यो भाबी पुस्तालाई हस्तान्तरण गर्ने भौतिक वस्तु हो भन्ने चिन्तन सरकारी वा ब्यवसायी दुबै पक्षमा गम्भिरतापूर्वक देखिन सकेको छैन । विकास निर्माणका काम गर्ने सरकारी कार्यालय, स्थानीय तह र निर्माण क्षेत्रमा लागेका व्यवसायीहरुविच हामी सहयात्री हौं भन्ने भावना जागृत हुन सके जिल्लामा लामो समय अलपत्र परेका पूर्वाधार विकासको काममा उल्लेखनीय प्रगति हासिल गर्न सकिन्छ । सरकारले पूर्वाधार निर्माण अलपत्र पार्ने ब्यवसायीलाई कारवाही गर्ने तयारी गरेपछि गोरखामै पनि वर्षौंदेखि अलपत्र परेका निर्माणको कामले गति लिएको अनुभवबाट पनि केही सिक्न र बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्