धार्चे र चुमनुब्रीमा अस्पतालको खाँचो
संघीय सरकारले गोरखाका बिभिन्न तीन प्राथमिक स्वास्थ्य केन्द्र र एक स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नती गर्ने भएको छ । जौबारी प्राथमिक स्वास्थ केन्द्र, आरुघाट प्राथमिक स्वास्थ केन्द्र र मकैसिङ प्राथमिक स्वास्थ केन्द्र एवं सौरपानी स्वास्थ्यचौकीलाई १५ शैयाको अस्पतामा स्तरोन्नती गर्ने सरकारले निर्णय गरेको हो ।
त्यस्तै सौरपानी, स्वाँरा, ताकुमाझ लाकुरीबोटको सीमानामा पर्ने हुँडीखोला फाँटमा प्रदेश सरकारले २५ शैयाको एक अस्पताल स्थापना गर्ने भएको छ ।

यसअघि ५० शैयाको गोरखा अस्पताल र ५० शैयाको आँपपीपल अस्पताल रहेको गोरखामा अब १५ शैयाका पाँच अस्पताल थपिनेछन् । ताकु, ताकुमाझ लाँकुरीबोट, स्वाँरा, सौरपानी जस्ता दुर्गम क्षेत्रका लागि यी अस्पताल धेरै नै फलदायी हुनेछन् ।
जिल्लाको दुईतिहाइ भूभाग ओगटेर रहेको धार्चे र चुमनुब्री गाउँपालिकामा पनि सरकारको अस्पताल कार्यक्रमको अति जरुरी छ । लडे, भाँचिएको उपचार गर्न पनि कि हेलिकोप्टरमा बोकिएर काठमाडौं जानु पर्ने बाध्यता छ । गाउँमा औषधी उपचार नहुने भएपछि सामान्य उपचारका लागि पनि उनीहरु सहर जान बाध्य छन् ।

गाउँमा स्वास्थ्य चौकी छन् तर कतिपयमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी छैनन् । कतिपयमा औषधी, उपकरण हुदैन । कतिपयमा औषधी उपचार भएपनि म्याद सकिएका हुन्छन् । यस्तो अबस्थामा गाउँलेहरु धामी, झाँकी, वैद्यको भरमा गुजारा गर्नुपरेको अबस्था छ ।
यो बर्ष जुन गाउँपालिकाहरुमा अस्पताल बनाउने निर्णय ग¥यो, त्यसलाई स्वागत गर्दै आगामि बर्षहरुमा सरकारले धार्चे र चुमबुन्री गाउँपालिकाहरुमा अस्पताल निर्माण गर्ने निर्णय ल्याउनु पर्छ र सरकारबाट टाढा रहेका दुर्गमका बासिन्दालाई सरकारी सेवाको प्रत्याभूति दिनुपर्छ ।




