गोरखाको पृथक पहिचान बन्दैछ रोट महोत्सव
गोरखालाई चिनाउने धेरै अवयवहरु छन् । ऐतिहासिक पाटो सबैभन्दा महत्वपूर्ण छ । कोट, थुम्का, गढी, किल्लाका इतिहास त प्राय सबै ठाउँका महत्वपूर्ण छन् नै तर सिँगो नेपाल एकीकरणको इतिहास अमिट गोरखासंग छ ।
बिभिन्न मठमन्दिर, गुम्बा, मस्जित प्राय सबै ठाउँमा छन् तर गोरखकाली, गोरखनाथ, मनकामना मन्दिरको पहिचान शीर्षस्थानमा छ । ऐतिहासिक गोरखा संग्रहालयको पनि उत्तिकै महत्व छ ।
सबै ठाउँमा हुने गरेका कुराको अलग होइन साझा पहिचान हुन्छ । तर गोरखामा बिगत १५ बर्षयता अर्को पृथक पहिचान स्थापित भएको छ, ‘रोट महोत्सव’को । किन पृथक भने, रोटमहोत्सव देशका अन्यत्र भएको पाइँदैन, गोरखामा मात्र यो भव्यताका साथ ११ दिनसम्म सञ्चालन हुने गरेको छ ।
यसबर्ष पनि जेठ ४ गतेदेखि १४ दिनसम्म सञ्चालन हुदैछ । गोरखनाथ प्रकट दिवसको अवसरमा रोट महोत्सव सुरु हुदैछ । सिद्धाश्रम शक्तिकेन्द्रले रोट महोत्सवको आयोजना गरेको हो । सो अवसरमा देशभरका सिद्धाश्रम शक्तिकेन्द्रसंग संवद्ध भक्तजनहरु ११ दिनसम्म गोरखामा केन्द्रित हुनेछन् । उनीहरुको गोरखा बसाइले गोरखाको यश र यहाँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक, सामाजिक पहिचान देशभर बिस्तार हुनेछ । बिगत १५ बर्षदेखि यहाँ आएका धार्मिक पर्यटकले गोरखाको बढावा गराइरहेका छन् । यसले पनि गोरखा आउनेहरुको संख्या पक्कै पनि बढेको छ ।
यसबेला गोरखाको बारेमा सकारात्मक सन्देश प्रबाह हुने खालका गतिबिधि गोरखामा हुनु आवश्यक छ । ठूलो संख्यामा बाहिर जिल्लाका अतिथिहरु जिल्लामा आएका बेला जस्तो गतिबिधि हुन्छन्, उनीहरुले लाने सन्देश पनि त्यस्तै हो । त्यसैले यतिबेला सकारात्मक सन्देश लाने वातावरण सबैले सिर्जना गर्नुपर्छ ।




