रिसोर्टजस्ता विद्यालयको सान टिकाइराख्न चुनौती
भूकम्पले गोरखाका ४९५ वटा विद्यालय भत्किए । सबैमा गरेर तीनहजार वटा कक्षा कोठा क्षतिग्रस्त भए । दातृ निकायको सहयोगबाट अहिले धमाधम विद्यालय भवन बन्दैछन् । एकसय छ वटा विद्यालय भवन निर्माण गर्न बाँकी रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा)ले जनाएको छ । बनेका भवनहरु भूकम्प प्रतिरोधी छन् । सामान्य भूकम्पले नभत्काउने बलिया मात्रै होइन, ती भवनहरु ज्यादै सुन्दर छन् । हेर्दा तारे होटल जस्ता मात्र होइन, सुविधासम्पन्न पनि छन् । विद्यालयमा पुस्तकसहितका छात्रबास, उपकरणसहितका विज्ञान प्रयोगशाला, बाल उद्यान, बालमैत्री, अपांगमैत्री, लाइटिङ सिस्टम मिलेका छन् । बहुउद्देश्यीय सेमिनार हल, पानीसहितको सौचालय, खानेपानी ब्यबस्था, सोलार प्रविधिको बत्तीले विद्यालय रातको समयमा झिलिमिली हुदा विद्यालय पनि रिसोर्टजस्तो देखिन्छ । यस्ता भवन पाएपछि शिक्षक, विद्यार्थीले चारबर्षसम्मको टहरोको कष्ट भुलेका छन् । ठूला र भव्य भवन पाएर दंग शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुको सामु अब एउटा चुनौती छ । दाताले निर्माण गरिदिएको विद्यालय भवनलाई लामो समयसम्म टिकाइराख्न उनीहरु सामु चुनौती छ । त्यस्तै त्यसको सुन्दरता कायम राख्न पनि चुनौती नै छ । भवन त एउटा पाटो हो, विद्यालयको आत्मा भनेको शैक्षिक गुणस्तर हो । वाह्य वातावरण राम्रो बनाउनु भन्दा शैक्षिक गुणस्तर वृद्धि गर्नु चुनौतीपूर्ण छ । त्यसैले अबको कदम भौतिक सम्पन्नतातिर मात्र होइन, यहाँको शैक्षिक गुणस्तर वृद्धिका लागि हुनुपर्छ ।




