बारपाकको नयाँपन सकारात्मक
पुरानो बारपाकको मौलिकताको छाप अमिट बनेर रहेको छ । स्लेट ढुंगाको छाना, ढुंगाकै आँगन, बाटो, माटो नराखी लगाइने गारो सबै मौलिक थिए, सुन्दर थिए । भूकम्पले ती कुनै नि बाँकी राखेन । नष्ट हुनु कसैका लागि पनि प्रिय हुदैन । तर नयाँ बारपाक जुन बनेको छ, त्यो पनि नराम्रो छैन । तत्कालिन एनआरएन अध्यक्ष शेष घलेले बारपाक पुगेर एकीकृत नमूना बस्ती बनाउने आस्वासन दिए । उनको एमआईटी नामक संस्थाले एक हजार घर बनाउने घोषणा गरेको पनि थियो । बारपाक निर्माणका लागि प्रक्रिया केही अघि बढेको पनि थियो तर केही स्थानीयबासीको अबरोधपछि सो प्रक्रिया रोकियो । अनि एनआरएनए लाप्राक गयो । गुप्सी बस्ती बन्यो । बारपाकका केही अगुवाहरु एकीकृत बस्तीको अनुमति प्रक्रियाका लागि लागिपरे । अमेरिकामा रहेका, बेलायतमा रहेका, काठमाडौंमा रहेका बारपाकीहरु पनि लागि परे तर अनुमति प्रक्रियाले लामो समय लियो । भूकम्पले घरबास गुमाएका बारपाकबासीले लामो समय टहरोमा बिताउन नसकेर धमाधम आ(आफ्नै पाराको घर बनाउन थाले । फलतः अहिलेको जस्तो बारपाक बन्न पुग्यो । आरसिसी घर बनाउने अधिकांशको भनाइ छ कि ‘भूकम्पले ढुंगामाटोबाट बनेको सबै घर लग्यो, तर आरसिसी घर जोगियो त्यसैले हामीले बारपाकका लागि भन्दा पनि आफ्नो सुरक्षाका लागि आरसिसी घर बनाएका हौं ।’ उनीहरुको तर्क पनि बेठिक छैन । पहिला त मान्छेले आफ्नै सुरक्षा हेर्छ । यसरी अहिलेको जस्तो बारपाक बनेको हो । जे होस्, भूकम्प प्रतिरोधी घर बन्नुपर्ने हो बनेको छ । अब यसैलाई राम्रो बनाउनतिर लाग्नुपर्छ ।




