| आइतवार, कार्तिक २२, २०८३

भूकम्प बिर्सेर नया सिर्जनात्मक काममा लागौं

आज गोरखा भूकम्प गएको चार बर्ष पूरा भई पाँचबर्ष लागेको दिन । भूकम्पमा परी देशभर आठहजार जना भन्दा धेरैको ज्यान गएको थियो । गोरखामा मात्र चारसय ७२ जनाको निधन भएको थियो भने ७१ हजार पाँचवटा घर क्षतिग्रस्त भएका थिए ।
सम्झँदै कहाली लाग्दो त्यो दिनको स्मृतिमा आज बारपाक लगायत बिभिन्न ठाउँमा भूकम्प स्मृति दिवस मनाइँदैछ ।
भूकम्पको दुखद पक्ष बिर्सनै पर्छ किनभने त्यो सम्झेर अघि बढ्न सकिदैन । अर्को पक्षबाट सोच्ने हो भने भूकम्पपछि गोरखाले धेरै कुरा पाएको छ । विकास त क्रमश हुने नै थियो तर भूकम्पकै कारण पूर्वाधार विकासको काम धेरै भएका छन् ।
जाइका नामक संस्थाको मद्धतबाट एकैसाथ पाँच वटा मोटरेबल पुल निर्माण भएका छन् । भूकम्पीय आपतकालीन सहायता आयोजनाबाट बिभिन्न तीनवटा सडक गरी कूल ५५ किलोमिटर सडक कालोपत्रे भइरहेका छन् । सोही आयोजनामार्फत २९ वटा स्वास्थ्य चौकी निर्माण हुदैछन् । जिल्लाभरका पाँचसय १३ विद्यालयमध्य आधुनिक सुविधासम्पन्न २९० वटा विद्यालयले नयाँ भवन पाएका छन् । एकसय १९ वटा निर्माणाधीन छन् । भवनसहित अन्य थप सुबिधा पनि पाएका छन् ।
बिभिन्न गैरसरकारी संस्थाहरुले गोरखाका ग्रामीण भेगका बासिन्दालाई जीविकोपार्जन सम्बन्धी महत्वपूर्ण तालिम तथा सहयोगी सामग्री तथा आर्थिक सहायता समेत गरेका छन् । एनजीओहरुले भूकम्पप्रतिरोधी घर निर्माणमा समेत सहयोग गरेका छन् । अझै महत्वपूर्ण कुरा त अहिले बनेका घर भूकम्प प्रतिरोधी छन् । जुन घर सानातिना भूकम्पले भत्किँदैनन् । त्यतिमात्र होइन, भूकम्पबाट कसरी बच्ने भन्ने बारे गोरखाबासी सचेत र सजग भएका छन् । समग्रीमा नहुनु दुखद घटना भइसक्यो अब बाँकी जीवन प्राकृतिक प्रकोपबाट बच्नसक्ने उर्जा प्राप्त होओस् ।

प्रतिक्रिया दिनुहोस्