सबै सार्बजनिक विदामा पनि संग्रहालय खुलाऊ
गोरखा संग्रहालय नयाँबर्षको दिन गत आइतबार खुल्यो । सार्बजनिक विदाको दिन भए पनि बिभागसंग अनुमति मागेर संग्रहालय प्रशासनले संग्रहालय खुल्ला ग¥यो ।
फलस्वरुप सो दिन चौधसय जनाले संग्रहालयको अवलोकन गरे । संग्रहालयबाट एकैदिन ३२ हजार रुपैयाँ राज्यलाई आम्दानी भयो । यो संख्या सामान्यभन्दा बढि हो ।
यसले के देखायो भने जुन दिन सार्बजनिक विदा हुन्छ, त्यही दिन मान्छेहरु घुम्न निस्कन्छन् । गोरखा ऐतिहासिक, धार्मिक, पर्यटकीय जिल्ला हो । देश भ्रमण गर्ने भनेपछि पोखरा, लुम्बिनी, सौराहा, खुम्बुपछि गोरखाकै नाम आउँछ । गोरखामा भ्रमण गर्ने ठाउँ मुख्य गरी तीनवटा छन् । सबैभन्दा धेरै पर्यटक आउने मनकामना, त्यसपछि गोरखा बजार(गोरखा दरबार, गोरखकाली) र त्यसपछि तल्लो र उपल्लो मनास्लु क्षेत्र हो ।
मनास्लु क्षेत्र जानेहरुले त्यहाँको सामाजिक, प्राकृतिक, ऐतिहासिक, धार्मिक सम्पदाको अवलोकन गरेर आनन्द लिनेछन् । गोरखा बजारमा आएका पर्यटकले विशेषगरी यहाँको धार्मिक र सांस्कृति सम्पदाको अध्ययन अवलोकन गर्छन् । यहाँ घुम्ने दुई प्रमुख ठाउँमध्य एउटा गोरखा दरबार र अर्को गोरखा संग्रहालय नै हो ।
यदि सार्बजनिक विदाको बेला संग्रहालय बन्द भयो भने, विदाको दिनमा गोरखा घुम्न देशभरिबाट आएकाहरु संग्रहालय अबलोकन गर्नबाट बञ्चित हुन्छन् ।
यसले दुई बेफाइदा हुन्छ । पहिलो ः राजस्व संकलन हुन पाउँदैन, दोस्रो ः संग्रहालय घुम्न नपाएर खिन्न भएर फर्केकाहरुले नकारात्मक सन्देश लैजानेछन् र पर्यटकको संख्या बढ्न पाउँदैन । त्यसैले गोरखा बजारको पर्यटन विकास गर्ने हो यदि भने विदाको दिनमा पनि गोरखा संग्रहालय खुलाउने ब्यबस्था गर्नुपर्छ ।




