चुमनुब्रीको बाटोको पहिरो नियन्त्रण गर
चुमनुब्री गाउँपालिका अहिलेसम्म सडक सञ्जालले छोएको छैन । सात वटा वडा रहेको सो गाउँपालिकाको कुनै पनि वडा सडकले नछोएको हो ।
सो गाउँपालिकामा सडक त परको कुरा, गोरेटो बाटो समेत जोखिम छन् । बाह्रै महिना सुख्खा पहिरो र ढुंगा झरिरहने सो गोरेटो, घोडेटोमा मान्छे र पशुचौपाया आवतजावत गर्न ज्यादै कठिन छ । अझै सो पदमार्ग हुदै हजारौं पर्यटक हिड्छन् । विदेशी नागरिक बर्षेनी यस्ता पहिरोमा परी ज्यान गुमाउने गरेका घटना पनि सार्बजनिक हुने गरेका छन् ।
गाउँपालिका, वडाका बजेट खर्चेर यस्ता पदमार्ग मर्मत सम्भार गर्ने अबस्था पनि छैन । किनभने यो जोखिम नियन्त्रण गर्नु चानेचुने कुरा छैन । विस्तृत गुरुयोजनासहित ठूलो बजेट खर्चेर पहिरो नियन्त्रण गर्नुपर्ने हुन्छ । बारम्बार मर्मत गर्दागर्दा हैरान भएका गाउँलेहरु अब त मर्मत गर्न पनि अल्छी गर्न थालेका वडाअध्यक्षहरु बताउँछन् ।
सो क्षेत्रमा काम गर्ने जनप्रतिनिधि, नेताहरुले सो बाटोको दीगो विकास गर्न लागि पर्नुपर्छ । सके आफूले नसके आफूभन्दा माथिल्लो निकायलाई गुहार गरी सो क्षेत्रका बासिन्दालाई सुरक्षित यात्राको व्यबस्था गरिदिनुपर्छ । गाउँको अर्थात बाटोको अबस्थाको बारेमा यथार्थ अवगत गराउने जिम्मेवारी भने गाउँस्तरका नेता तथा गाउँस्तरका जनप्रतिनिधिहरुको हो ।
बाटोको तल माथि नै निगालो रोपेर पनि ढुंगा खस्ने क्रमलाई नियन्त्रण गर्न सकिन्छ । पहिरोको ठाउँ ठाउँमा बारबन्देज गरेर पनि नियन्त्रण गर्न सकिन्छ । अर्थात नारायणगढ, मुग्लिन सडकको माथिल्लो भेगमा झै तारबारले जमिन छोडेर पनि ढुंगा खस्ने क्रमलाई नियन्त्रण गर्न सकिन्छ । अझै ठूला इञ्जिनियरहरुसंग बिभिन्न उपायहरु हुनसक्छन् । त्यसका लागि जनप्रतिनिधि, नेताजीहरुले उपाय खोज्नुपर्छ ।




