| आइतवार, कार्तिक २२, २०८३

भूकम्प दिवसमा विशेष कार्यक्रम गर

बारपाक सुलीकोट गाउँपालिको यही बैशाख १२ गते सार्वजनिक विदा गर्ने भएको छ । बारपाकलाई केन्द्रविन्दू बनाएर विनाशकारी भूकम्प गएको स्मरणमा यसबर्षदेखि सो दिनलाई भूकम्प स्मृति दिवसको रुपमा मनाउने, सार्वजनिक विदा गर्ने निर्णय गाउँपालिकाले गरेको हो ।
स्थानीय तहले आफ्नो पालिकाभित्र केही दिन सार्वजनिक विदा दिन पाउने व्यबस्था छ । सोही अधिकारको प्रयोग गर्दै सो गाउँपालिकाले विदा गरेको हो ।
सो दिनमा बारपाकमा भव्य कार्यक्रम गर्ने र सो कार्यक्रममा सम्भव भएसम्म सबै उपस्थित हुने खालको कार्यक्रम गरेको भए विदा भन्दा उपयुक्त हुने थियो ।
चारबर्षअघिको भूकम्प सम्झाउने, दर्शाउने नाटक लगायतका कार्यक्रम गर्ने, भूकम्पबाट बच्ने उपाय बारे जनचेतना गर्ने, झाँकी, र्याली गर्ने गरेको भए विदा भन्दा महत्वपूर्ण हुने थियो ।
सो दिन बारपाक केन्द्रित कार्यक्रम त अवश्य नै गर्ने नै छ । कार्यक्रमका लागि कार्यक्रम भन्दा पनि गाउँपालिकाले अबका प्राकृतिक प्रकोपमा कम भन्दा कम क्षति हुने गरी जनचेतना जगाउने कार्यक्रम गर्नु अति आवश्यक छ । त्यो खालको कार्यक्रमको खाँचो पनि हो ।
अहिलेका नयाँ पिँढीले नयाँ प्रविधिको सहज अध्ययन गर्न सक्छन् । त्यसैले भूकम्प दिवसको अवसरमा भूकम्प जानुअघि बज्ने साइरनको व्यापक ठाउँमा प्रयोग गर्ने, यस बारेमा सचेत गराउने कार्यक्रम गरेको भए पनि हुने थियो ।
अब एनजीओ, आइएनजीओहरु बिस्तारै विदा हुदैछन् । उनीहरुले गरेको जस्तो कर्यक्रम अब स्थानीय सरकारले गर्न सक्नुपर्छ । स्थानीय सरकारले गरेको कार्यक्रम उनीहरुको भन्दा प्रभावकारी र फलदायी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्