| सोमवार, अशोज ११, २०८३

आफ्नो ठाउँमा भइरहेको विकास निर्माणको कामको रेखदेख गरौं

अहिले गोरखा–आरुघाट सडकको धमाधम कालोपत्रेको काम भइरहेको छ । त्यस्तै पालुङ्टारबाट भच्चेक सडकको पनि कालोपत्रेको काम धमाधम भइरहेको छ ।
सडक कालोपत्रे हुनु विकास निर्माणको निकै महत्वपूर्ण काम हो । सडक कालोपत्रे भएपछि हिउँद बर्खा सवारी साधन निर्बाध चल्न सम्भव हुन्छ । त्यस्तै धुलो र हिलो न्युनिकरण हुन्छ । यसले कुनै ठाउँ आउजाउमा सहज बनाउने मात्रै होइन, अत्यावश्यक सामग्री ढुवानीमा सहज तथा मूल्य पनि घटाउँछ ।
तर पछिल्ला दिनमा भएका कालोपत्रेको गुणस्तर ज्यादै कमजोर हुने गरेको पाइन्छ । हामी कालोपत्रे भएको मात्र देखेर दंग हुन्छौं, तर यसको गुणस्तरको बारेमा ख्याल गरेका हुदैनौं, जसले गर्दा एक महिना पनि नपुग्दै कालोपत्रे उप्किन थाल्छ ।
गोरखा आरुघाट सडकको कालोपत्रे पनि अहिल्यै उप्किन थालेको छ । बिभिन्न घुम्तीहरुमा कालोपत्रे उप्किएर खाल्डो पर्न थालिसकेको छ । गुणस्तरहीन कालोपत्रे गरेकाले नै यस्तो भएको हो । यस्ता कामले हाम्रो खुशीलाई क्षणभरमै खाल्डोमा गाड्छ ।
सडकको मात्र होइन, हाम्रो क्षेत्रमा जे काम भइरहेका छन्, ती सबैको गुणस्तरको ख्याल गर्नुपर्छ ।
सम्बन्धित विकास निर्माणको काम हाम्रै लागि हो त्यसैले त्यसलाई टिकिराख्ने गरी पक्की संरचना निर्माणका लागि सचेत नागरिकको जागरुताको खाँचो छ ।
सबैको लागि हो, म मात्र किन तात्ने भन्ने सोचाइले हाम्रो गाउँठाउँमा बनेका विकासका काम कच्ची हुनेछन्, जसले गर्दा केही क्षणमै फेरि पुरानै समस्या ब्यहोर्नुपर्ने हुनसक्छ । त्यसैले आफ्नो गाउँठाउँको कामप्रति चनाखो भै यसको गुणस्तरको बारेमा चासो राख्नुपर्छ । गुणस्तरहीन काम हुनबाट रोक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्