
मध्यरातमा सामागाउँमा पहिरो
विदेशी पर्यटकले भरिभराउ रहेको उत्तरी गोरखाको चुमनुब्री १ सामागाउँमा पहिरो आएको छ । मनास्लुको फेदीबाट राती तीनबजेतिर गाउँमा पहिरो झरेको स्थानीय नाङ्सल छोदेनले जानकारी दिइन् ।
मध्यरातमा पहिरो झरेपछि सामागाउँका बासिन्दा तथा विदेशी पर्यटकहरु उठेर सुरक्षित ठाउँ खोज्दै गएका उनले बताइन् । ‘सुतिरहेका बेला अचानक पहिरो आएपछि सबै जना भागेर गुम्बा भएको खुल्ला ठाउँतिर गयौँ’, उनले भनिन्, ‘अहिले उज्यालो भएपछि कोही गाउँमा फर्किएका छन् । कोही अझै गुम्बा भएको ठाउँमै छन् ।’ पहिरोको त्रासले सबैजना रातभरि जागै बसेको उनले बताइन् ।
मनास्लु हिमाल रहेको भित्तातिरबाट पहिरो झरे पनि ठूलो त्रासको अवस्था भने नरहेको पूर्व वडाअध्यक्ष वीरबहादुर लामा बताउँछन् । ‘लगातारको बर्षाले राती पहिरो आउँदा गाउँले तर्सिएको हो । पहिरोसंगै ढुंगाहरु गुल्टिएर आएकाले विदेशी पर्यटकहरु पनि तर्सिएका हुन्’, उनले भने, ‘तर यही अवस्थामा धेरै जोखिम पनि छैन । धेरै तर्सिनु पनि पर्दैन ।’ गाउँमा विदेशी पर्यटकहरु रहेकाले सबैको चासो बढेको हुनसक्ने उनको भनाइ छ ।
मनास्लु आरोहण नगरी फर्किएका विदेशी, स्वदेशी तथा लार्के पासका लागि गएका पर्यटक र सहयोगीहरुले अहिले सामागाउँ भरिभराउ छन् । मौसम खुलेपछि यात्रा तय गर्ने आशामा उनीहरु त्यहाँ ‘होल्ड’ भएर रहेका हुन् ।




