किसानलाई प्रविधि देऊ
केही समयअघि गोरखा नगरपालिकाले केही कृषक समूह, सहकारी र केही व्यक्तिलाई हाते ट्याक्टर वितरण गर्यो । त्यसको केही समयपछि शहीद लखन गाउँपालिको कृषि सहकारीलाई हाते ट्याक्टर बाँड्यो ।
गाउँको एक कृषि सहकारीले हाते ट्याक्टर पाएपछि शहीद लखन ८ बुंकोटकी एक महिलाले हाते ट्याक्टर चलाउने सीप सिकिन् । किनभने खेतबारी जोत्नका लागि उमेरदार पुरुषलाई कैयौं बिन्तिभाउ गर्दा पनि मान्छे नपाएपछि आजित भएकी उनी आफैले हाते ट्याक्टर चलाएर खेतबारी जोत्ने हिम्मत निकालिन् ।
गाउँमा उनीजस्ता कैयौं महिला किसान छन्, जसको उमेरदार पुरुष विदेशिएका छन् । आफू जोतौं सकिन्न, खेताला भनौं पाइन्नन् । त्यसैले घरबारी समेत बाँझै बसेको छ । उनीहरुले यदि हाते ट्याक्टर पाए भने सबै खेतबारीमा खेती गर्न नसक्लान्, तर बाँझा जमिन धेरैमा खेतीपाती सुरु हुन्छ । त्यसैले स्थानीय सरकारले होओस् ,वा प्रदेश सरकारले यस्ता किसान लाभान्वित हुने काममा बजेट बिनियोजन गर्न हिच्किचाउनु हुन्न ।
समूह, सहकारी भनेर पैसा बाँड्नु भन्दा किसानहरुलाई यस्ता सहयोगी सामग्री वितरण गर्नु धेरै उपयुक्त हुन्छ । यस्ता खाले कार्यक्रमले किसान प्रत्यक्ष रुपमा लाभान्वित हुने भएकाले सबै स्थानीय सरकारले यसको देखासिकी र अझै सुधारिएका कार्यक्रम लागु गर्नुपर्छ जसले गर्दा स्थानीय निम्न स्तरका किसानहरुलाई प्रत्यक्ष लाभ पुगोस् । स्थानीय सरकारलाई आफ्नो सरकारको अपनत्व ग्रहण गर्न सकुन् ।
प्रविधि र सीप दिएमा उनीहरु सबल, सक्षम र स्वबलम्बी हुनेछन् । उनीहरुमा तब सम्बृद्धि आउनेछ ।




