
हिमाली सभ्यता रक्षाका लागि मनास्लुका युवाहरुको सन्देश
हिमाली पर्यावरणमा आएको सङ्कट र त्यसले निम्त्याएको अस्तित्वको जोखिमप्रति मनास्लु क्षेत्रका युवाहरूले देखाएको चासो केवल एउटा भूगोलको माग मात्र होइन, सिङ्गो देश र हिमाली सभ्यता जोगाउने गम्भीर चेतावनी हो ।
हिमताल संरक्षण, विस्फोटको जोखिम न्यूनीकरण, नियमित अनुगमन, पूर्वसूचना दिने साइरन जडान जस्ता प्राविधिक मागदेखि जलवायु परिवर्तनका कारण परेको असरको क्षतिपूर्ति दाबी गर्नेसम्मका दूरगामी महत्वका मुद्दा उठाएर युवाहरू आमरण अनसनमा बस्नु परेको घटनाले हाम्रो राज्यसत्ताको चेतना स्तरमाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ ।
गण्डकी प्रदेश सरकार र मनास्लु संरक्षण क्षेत्र आयोजनाले युवाहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि अनसन फिर्ता हुनु सकारात्मक कदम हो । तर, वातावरणीय सङ्कटको मुख्य साझेदार हुनुपर्ने सङ्घीय सरकारले देखाएको उदासीनता र बेवास्ता भने अत्यन्तै चिन्ताजनक छ । यो उसको गैरजिम्मेवारपन हो ।
हिमतालमा पानीको सतह बढ्दै जाँदा गाउँ नै बगाउने जोखिम हुन्छ । त्यसैले जोखिमयुक्त हिमतालहरूको निरन्तर वैज्ञानिक अनुगमन र तल्लो तटीय क्षेत्रका बासिन्दाको सुरक्षाका लागि स्वचालित पूर्वसूचना प्रणाली तुरुन्तै जडान गरिनुपर्छ । आगामी पुस्तालाई आफ्नै माटो र पर्यावरणप्रति सचेत गराउन हिमाली क्षेत्रका विद्यालयहरूमा जलवायु परिवर्तन, यसका जोखिम र हिमाली सभ्यता संरक्षणबारे पाठ्यक्रम बनाएर पढाउनु अनिवार्य भइसकेको छ ।
विश्वव्यापी तापमान वृद्धिमा नेपाल वा हाम्रा हिमाली बासिन्दाको योगदान शून्य प्रायः छ, तर यसको सबैभन्दा ठूलो दुष्परिणाम उनीहरूले नै भोगिरहेका छन् । त्यसैले प्रदूषण फैलाउने धनी र औद्योगिक राष्ट्रहरूबाट नेपालले पाउनुपर्ने क्षतिपूर्तिका लागि राज्यले अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त आवाज उठाउनै पर्छ ।
मनास्लुका युवाहरूको यो पहलकदमी र जागरुकता ज्यादै सह्रानीय र अनुकरणीय छ । उनीहरूले केवल आफ्नो गाउँको चिन्ता गरेनन्, सिङ्गो देशको हिमाली पारिस्थितिकी र सभ्यताको रक्षाका लागि राज्यलाई घच्घच्याउने काम गरे । अब यो आवाज मनास्लुमा मात्र सीमित हुनु हुँदैन ।
महाकालीदेखि मेचीसम्मका सम्पूर्ण हिमाली तथा पहाडी भेगका युवाहरू यसरी नै जाग्नुपर्छ, जुट्नुपर्छ र आ–आफ्नो भूगोलको संरक्षणका लागि राज्यलाई जिम्मेवार बनाउन दबाब दिनुपर्छ । हिमाली सभ्यता, जनजीवन र पर्यावरण बचाउने यो महाअभियानमा देशभरका युवाहरूको ऐक्यबद्धता र सहभागिता आजको मुख्य आवश्यकता हो ।




