
सामागाउँका युवाहरुलाई साधुवाद
गोरखाको सामागाउँका युवाहरुले तीन दिन लामो आमरण अनसन बसेपछि न्यायको प्रत्याभूति पाएका छन् । हिमाली जनजीवन र हिमाली सभ्यताको संरक्षण गर्न माग गर्दै तीन दिन अनसन बसेपछि उनीहरुको माग गण्डकी प्रदेश सरकार र मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले संवोधनको पहल गर्ने प्रतिवद्धता जनायो । यदि प्रदेश सरकार र एमक्यापले प्रतिवद्धता कार्यान्वयन गरे भने अब गोरखा लगायतका जिल्लाका हिमतालहरुको हवाइ अनुगमन हुनेछ । हिमतालको जलसतह समय समयमा नापजाँच हुनेछ । यदि जलसतह बढेर खतराको तह पारेमा समयमै साइरन बज्ने प्रविधि जडान हुनेछ, जसले गर्दा जोखिम(खतरा) बढेपछि स्थानीयले सुरक्षित स्थानतर्फ जाने मौका पाउनेछन् ।
त्यस्तै हिमाली भेगको पाठ्यक्रममा जलवायू परिवर्तन र यसबाट पर्ने असरसम्बन्धी पाठ्यक्रममा पढाइ हुनेछ । विश्व तापमान बढाउन योगदान गर्ने मुलुकहरुले तापमान बढाउन योगदान नगर्ने तर तापक्रम वृद्धिबाट उच्च जोखिममा रहेका हाम्रा हिमाली भेगलाई क्षतिपूर्ति रकम दिनुपर्नेछ । त्यसका लागि सरकारले पहल गर्नेछ ।
सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न सरकारले पूर्वतयारी गर्नुपर्ने छ । नेपाल र चीनका सीमावर्ती क्षेत्रमा रहेका हिमताल तथा हिमनदीकोहरूको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न पनि सरकारले पहल गर्नुपर्ने छ । एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी काम गर्न स्थापित संस्थाहरूले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने छ ।
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्नका लागि सहरमा हुने गरेका जलवायुसम्बन्धी बैठक, सेमिनारहरू हिमाली क्षेत्रमा आयोजना गर्न गराउन सरकारले विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय सरकारी, गैरसरकारी संस्थाहरूसँग आग्रह गर्नेछ ।
यी मागहरु सबै सान्दर्भिक छन्, जुन पूरा गराउन माग गर्दै स्थानीय युवाहरुले ज्यान जोखिममा राखेर पाँच हजार मिटर उचाइमा आमरण अनसन बसे । उनीहरुको माग पूरा गर्न प्रदेश सरकार र एमक्याप तयार भएको छ । यसका लागि ती युवाहरु धन्यवादका पात्र छन् ।




