चेपाङ समुदायमा शिक्षा र चेतनाको खाँचो
गोरखा जिल्लाका दुईवटा गाउँपालिकाहरुमा चेपाङ समुदायको बसोबास छ । अति सीमान्तकृत जाति अन्तर्गत पर्ने चेपाङहरु गोरखाको सहिदलखन गाउँपालिका र गण्डकी गाउँपालिकाका बिभिन्न वडाहरुमा बस्छन् । सोही क्षेत्रको धादिङ, चितवन र मकवानपुरमा पनि उनीहरुको बसोबास छ । २०६८ सालको जनगणना अनुसार कूल ६८,३९९ जना चेपाङमध्य गोरखामा मात्र ३,४५४ जना चेपाङहरु छन् ।
चेपाङ सबै हिसाबले पछाडि परेका छन् । त्यसको कारण पहिलो त आफै हुन्, अनिमात्र दोस्रो, तेस्रो पक्ष दोषी हुन् । उनीहरुमा सबैभन्दा कमजोरी भनेको नै शिक्षा र चेतना हो । जवसम्म उनीहरुमा चेतनाको विकास हुदैन, तवसम्म उनीहरु बिहानदेखि साँझसम्म काममा जोतिइ रहनु पर्छ । उनीहरुमा विद्यमान समस्याहरु ः १. कमाउँछन्, खाएर (पिएर) सक्छन्, २. सानोमै बिहे गर्छन् र सानोमै बालबच्चा जन्माउँछन्, ३. बालबच्चालाई पढाउँदैनन् । ४ .गरीबी छ ।
सरकारले सघन रुपमा चेपाङलगायतका अतिसीमान्तकृत समुदायमा कार्यक्रम लागु गर्नुपर्छ । त्यस्तै गोरखामा सामाजिक क्षेत्रमा काम गर्ने धेरै संघसंस्था छन् । चेपाङ समुदायमा काम गर्ने संघसंस्थाहरु पनि छन् । उनीहरुले दाताबाट प्राप्त बजेट सिध्याउने ध्याउन्न मात्र नगरी समाजसेवा पनि केही हदसम्म गर्ने भावना राखेर काम गरेमा चेपाङ समुदायको स्तर उकासिन सक्छ ।
सो क्षेत्रमा निर्वाचित जनप्रतिनिधिले पनि आफ्नो पालिकाभित्रका चेपाङ समुदायलाई माथि उठाएरै छाड्ने प्रतिज्ञाका साथ काम गर्नुपर्छ ।




