
ताक्लुङमा निशुल्क स्वास्थ्य शिविर
गोरखाको शहिद लखन गाउँपालिका ४ ताक्लुङमा निशुल्क स्वास्थ्य शिविर भएको छ । गाउँपालिकाको आयोजनामा प्रगती प्राथमिक विद्यालयमा भएको स्त्रिरोग तथा दन्तरोग सम्बन्धी स्वास्थ्य परिक्षण शिविरमा दुई सय एक जनाले सेवा लिएका छन् ।
शिविरमा २० जनाले स्त्रिरोग सम्बन्धी सेवा लिएकोमा ५ जनाको पाठेघर खस्ने समस्या पाईएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले बताए । शिविरमा ४१ जनाको दन्त परिक्षण, एक सय ३८ जनाको सामान्य स्वास्थ्य परिक्षण गरिएको छ । शिविरबाट ३५ जनाले प्रयोगशाला सेवा लिएका छन् । गोरखा अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर श्रीराम तिवारी सहित गोरखा अस्पतालको चार जना र सामुदायिक डेन्टल अस्पतालको टिमले बिरामीको स्वास्थ्य जाचँ गरेको थियो ।
वडा नं ४ का अध्यक्ष कृष्ण चेपाङको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




