| शनिबार, अशोज ९, २०८३

अब्यबस्थित सडक व्यबस्थित गर्ने प्रयास सकारात्मक

आबुखैरेनी गोरखा सडक अव्यबस्थित भएको बारे चर्चा हुन छाडिसकेको अबस्था थियो । ब्यबस्थित हुनुपर्ने र नभएको भन्दै चर्चा गर्दा गर्दै थाकेपछि सचेत नागरिकहरुले चर्चा गर्न छाडेका हुन् ।
नयाँ प्रमुख जिल्ला अधिकारी गोरखा आएपछि केही नयाँ काम गरुँ भन्ने भावनाले सडकको तीब्र अनुगमन सुरु गरे । बाह्रकिलोदेखि छेपेटार सडक, बेनिघाट सिउरेनीटारदेखि बुढीगण्डकी जलविद्युत आयोजनास्थलसम्मको र गोरखा बजारदेखि फिनाम सडक कालोपत्रे भएर पनि गाडी गुड्न कठिन अबस्थामा भएको तथा घ्याम्पेशालदेखि बाँकोटसम्मको सडकको सुरुको खण्ड पनि क्षतविक्षत भएको अनुभूति भएपछि उनले सरोकारवालाको बैठक आव्हान गरे र व्यबस्थित बनाउने निर्णय गरे । आँबुखैरेनी गोरखा सडकखण्डको बारकिलो बजारमा यत्रतत्र रहेका टहराहरुले सडक साँगुरो बनाएकाले त्यसलाई पनि सफा गर्नुपर्ने बैठकले ठहर गरेको छ । बाह्रकिलो छेपेटार सडक र गोरखा फिनाम सडक व्यबस्थित बनाउन सडक योजना कार्यालयले जिम्मा लिएको छ । त्यस्तै गोरखा खैरेनी सडक ब्यबस्थित बनाउने जिम्मा सडक डिभिजन कार्यालयले लिएको छ । बेनिघाटदेखि बुढीगण्डकी आयोजनास्थलसम्मको सडक व्यबस्थित बनाउन आयोजना कार्यालयले समन्वय गर्ने निर्णय भएको छ । यसले सडकको स्तर वृद्धि हुने छ भने विशेष गरी गोरखा खैरेनी सडकको क्षेत्रभित्रको भाग व्यबस्थित हुने नयाँ आशा पलाएको छ । काम गर्दा बिभिन्न बाधा अड्चन आएपनि बेपर्वाह काम गरेमा लक्ष्य र उद्देश्य पूरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्