कागजमा बन्द, फिल्डमा सञ्चालन ?
गण्डकी गाउँपालिका ८ धवादीघाटमा अबैध रुपमा सञ्चालनमा रहेको एक फिरफिरे उद्योग बन्द गर्न गत माघ ७ गतेको मितिमा पत्राचार गरेको थियो, तर उद्योग भने अहिलेसम्म पनि निर्बाध चलिरहेको छ ।
सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा नगरेको सिद्धि दर्शन सप्लायर्सले स्थानीय खानीको बालुवा तथा धादिङको बालुवा प्रशोधनको काम गरेको हो । भूकम्प पीडितको घर निर्माणका लागि आन्तरिक आपूर्तिका लागि भन्दै उद्योग सञ्चालन गरेको सो सप्लायर्सका सुजीत रेग्मी बताउँछन् । स्थानीयबासी भने आन्तरिक मात्र नभै निकासी पनि हुने गरेको बताउँछन् । यसबारेमा स्थानीय वडा कार्यालय तथा गाउँपालिका कार्यालयले पनि नदेखेको, थाहा नपाएको अभिनय गर्दै आएको छ । सो वडाभित्र सञ्चालन गर्ने गरी १२ वटा फिरफिरे उद्योग दर्ता भएका छन् । जिल्लाभित्र दर्ता भएका जति सबै फिरफिरे सोही वडाभित्र मात्रैका हुन् । गण्डकी गाउँपालिकाभित्र खानी सञ्चालनका लागि कसैले पनि अनुमति लिएका छैनन् । १२ वटै फिरफिरे उद्योगले धादिङबाट बालुवा ल्याएर प्रशोधन गर्ने मनाशायले फिरफिरे उद्योग दर्ता गरेका हुन् । तर उद्योगहरुले अवैध रुपमा सोही ठाउँको खानीबाट बालुवा झिकी प्रशोधन गर्ने गरेको स्थानीयबासी बताउँछन् । यसखालको अनियमिततालाई सम्बन्धित निकायले नियमन गर्नुपर्छ । बालुवाको बिषयमा त्यहाँ र अन्यत्र हुने अन्यखालका अनियमितता पनि नियमन गर्नुपर्छ ।




