स्मार्टसिटीको काममा ढिलाइ नहोस्
गोरखा जिल्लाको दोस्रो नगरपालिकाको रुपमा रहेको पालुङ्टार नगरपालिकालाई सरकारले स्मार्ट सिटीको रुपमा विकास गर्ने भएको छ । प्रधानमन्त्री केपी वलीले यो भन्दा अघिल्लो कार्यकालमा प्रधानमन्त्री हुदैमा पालुङ्टारलाई स्मार्टसिटी बनाउने घोषणा गरेका थिए ।
त्यतिबेला गोरखालाई भूकम्पले छियाछिया बनाएको बेला थियो । मर्ने त मरेर गए, बाँच्नेलाई राहत दिन गोरखाको बारपाक सडकलाई दुईबर्षभित्र कालोपत्रे गर्ने र पालुङ्टारलाई स्मार्टसिटी बनाउने उनको घोषणा थियो । चार बर्ष भयो बारपाक सडक कालोपत्रे त हुन सकेन, तै पनि पालुङटारलाई स्मार्ट सिटी बनाउने गुरुयोजना बन्दैछ ।
राष्टिूय योजना आयोगले स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट अर्थ व्यवस्था र स्मार्ट पूर्वाधार गरी चारवटा सूचकलाई स्मार्टसिटीको आधार बनाएको छ । स्मार्ट जनता भन्नाले सहरी विकासका उपलब्धीहरु उपयोग गर्दै समावेशी समाजको सिद्धान्त अनुरुप बसोबास गर्ने, सुरक्षित, सिर्जनशील, शिक्षित नागरिक भन्ने बुझिन्छ । स्मार्ट शासन भन्नाले सूचना प्रविधिका पूर्वाधारको विकास, अनलाईन प्रणालीमा आम नागरिकको सहज पहुँच जस्ता मापदण्ड रहेका छन् । स्मार्ट अर्थतन्त्र भन्नाले सामाजिक पूर्वाधार, हरित पुर्वाधार, आम्दानीका स्रोत जस्ता अर्थसँग जोडिने बिषयको सुगमतालाई संकेत गरिएको छ । यस्तै स्मार्ट पुर्वाधार भन्नाले सार्वजनिक यातायातको सहज पहुँच लगायत अत्यावश्यक पूर्वाधारको उपलब्धता लाई जनाउँछ ।
विकासको गति तिब्र गतिमा भएको नगरपालिका भनेर पालुङटार नगरपालिकालाई महत्वका साथ हेरिन्छ । त्यसैले पालुङ्टार नगरपालिकाको कार्यपालिकाले आमको अपेक्षा सापेक्ष काम गर्नुपर्छ । आमको सोचाइ पूरा नहुने काम भयो भने यसको अपजस नगरकार्यपालिकालाई जानेछ ।
स्मार्ट सिटीको गुरुयोजना निर्माणको काम अहिले करिब ७० प्रतिशत सम्पन्न भएको नगरपालिकाले जनाएको छ । गुरुयोजना तयार भएपछि यसको कार्यान्वयन पनि यस्तै तीब्र गतिमा होओस् । यसमा राजनीतिक, सामुदायिक सहमति, सहकार्य र एकताको खाँचो छ ।




