आनन्दका लागि अहं परित्याग
महेश श्रेष्ठ :
हामी एउटा प्रश्न आफैँसँग गरौँ( ‘म’ को हुँ? परिचय दिने सन्दर्भमा सुरुमै हामीले आफ्नो नाम र थर सम्झनेछौँ। हामीले आफ्नो राष्ट्रियता र धर्म सम्झनेछौँ। अब हामी आफैँसँग प्रश्नहरू गरौँ( हामीले आफ्नो नाम आफैँले राखेका हौँ कि अरूले राखिदिएको? हाम्रो थर वा जात अरूले दिएको कि आफैँले कमाएका हौँ? अनि हाम्रो स्वयंको इच्छाले आफू जन्मेको देश र धर्म छानेका हौँ कि त्यो पनि हाम्रो परिश्रमबिना आफैँ भएको हो? उत्तर स्वभावतः अधिकांश अवस्थामा अरूले नै दिएका वा व्यक्तिगत परिश्रमबिना पाएका हौँ भन्ने आउँछ। उसो भए हामीले ‘म’ भनेर जसरी आफ्नो बारेमा विचार गरेका छौँ, त्यो सब त अरूले नै दिएका कुरा मात्रै पो रहेछन् त! हामी फेरि प्रश्न गरौँ( उसो भए वास्तवमा ‘म’ को हुँ त? आफूले परिश्रम गरेर कमाएको सन्दर्भ पारेर आफूले अध्ययन गरेको विषय र उत्तीर्ण गरेको शैक्षिक स्तर, आफ्नो पेसा र ओगटेको व्यावसायिक दायित्व सम्झौँला। फेरि प्रश्न गरौँ( के हामीले पढेका किताबहरू अरूले लेखिदिएका होइनन्? हामीले पूरा गर्ने व्यावसायिक दायित्व अरू कसैले तोकिदिएका होइनन् र? आजसम्म हामीलाई लागेको ‘म’ भन्नु केवल मनोवैज्ञानिक आयाम हो। ‘म’ भन्नु त हाम्रो स्मृतिको लामो शृंखला मात्रै हो। हामीलाई सत्य हो भनी विश्वास लागेको कुरा मात्र भ्रान्ती हो। त्यही ‘म’ भन्ने भाव नै अहंकार अर्थात् अहं (अंग्रेजी शब्द ‘इगो’) हो। अहंले केवल ‘म’ को हुँ भन्ने व्यक्तिगत र समाजिक पहिचान मात्र नभई शरीर, भावना र विचार पनि समेट्छ। स्वयंका बारेमा ‘म’ यो यो हुँ र ‘म’ यो यो होइन भनेर गरिने विश्वास नै अहं हो। अर्को अर्थमा अहं आफू र बाँकी संसारलाई छुट्याउने मनोवैज्ञानिक विभाजन हो। शिशुकालीन अवस्थामामा अहं जरुरी जसरी सानो बिरुवालाई मान्छेले कुल्चेला वा चौपायाले खाला भनेर बार लगाउनु जरुरी हुन्छ अनि अन्य घाँसले अतिक्रमण गर्ला भनेर त्यो बार लगाइएको स्थानभित्र गोडमेल र मलजल गर्न जरुरी हुन्छ, त्यसरी नै शिशुका सन्दर्भमा उसले ‘म’ को हुँ भन्ने पहिचान बनाउन उसका लागि अपरिहार्य हुन्छ। ‘म’ को हुँ भन्ने पहिचानकै कारण उसले आमा, बुबालगायत आफन्त र परिवार मात्रै चिनेको हुँदैन, के गर्नु हुन्छ, के गर्नु हुँदैन, आफ्नो सुरक्षामा पर्ने खतरा र स्वयंको सामर्थ्य बुझेको हुन्छ। महत्त्वपूर्ण कुरा त शिशुका लागि ‘म’ को हुँ भन्ने पहिचानको भाव जीवन रक्षार्थ आवश्यक पर्छ। तर जसरी एउटा समयमा बिरुवाको विकासका लागि वरिपरि लगाएको बार बाधक बन्छ, त्यसरी नै मानिसको वृत्ति विकासका लागि पनि ‘म’ को हुँ भन्ने पहिचानका भाव अर्थात् अहं बाधा बन्छ। तर दुर्भाग्य, यो संसारमा ९९ प्रतिशत बढी मानिसहरूले अहंलाई जिन्दगीभर बोकेका हुन्छन्। शिशुलाई परिवार, आफन्त सबैले विशेष ध्यान दिएका हुन्छन्। आफ्नो काम आफैँले गर्ने सामर्थ्य नभएको बालक अवस्था रहँदासम्म परिवारका सबै सदस्यहरूले ध्यान दिएका हुन्छन्। हामी सबैसँग केही वर्षका लागि परिवार र आफन्तको आकर्षणको केन्द्र भएको अनुभूति छ। अचेतन वा अर्धचेतन मनमा गडेको यही अनुभूतिका कारण नै हामीमा समाजको आकर्षणको केन्द्र बन्ने लालसा गडेको हुन्छ। आफूलाई केन्द्रमा राखेर बाँकी संसारलाई परिधिमा राख्नु नै अहं हो। त्यसैले ‘म’ भन्नु अरूको उपस्थितिमा मात्रै सम्भव हुन्छ। ‘तपाईं’ भनिदिने कोही भएन भने ‘म’ भन्नुको अस्तित्व कहाँ हुन्छ र? अहं, स्वयं र अरूबीचको विभाजन हामीले जीवनमा जे जति कार्य गर्छौं, स्वयंलाई अरूको तुलनामा पृथक सावित गर्न गर्छौं। बाँकी संसारभन्दा पृथक हुने त्यही महत्त्वाकांक्षाले नै हामीमा जित्नै पर्ने मनोभावको विकास गरेको हुन्छ। जित्नका खातिर प्रतिस्पर्धा चाहिन्छ। द्वन्द्व चाहिन्छ। लडाइँ चाहिन्छ। अर्कोलाई पराजित गर्न हिंसा गर्न सक्ने कठोर मन चाहिन्छ। शत्रु चाहिन्छ। अहं शत्रुतामा रमाउँछ। जति गहिरो शत्रुत्व भाव, जति ठूलो लडाइँ र जति शक्तिशाली शत्रु, त्यही मात्रामा अहं बलियो हुन्छ। घरको वरपर कम्पाउण्ड सुरक्षाको दृष्टिले लगाएको जस्तै ‘म’ भाव बाँकी संसार र स्वयंबीचको मनोवैज्ञानिक पर्खाल हो। घरको पर्खाल जति अग्लो र बलियो हुन्छ, हामीले त्यति नै सुरक्षित महसुस गर्छौं। त्यस्तै, जति ‘म’ भाव बलियो हुन्छ, स्वयं र बाँकी संसारबीचको विभाजन बढ्न गई हामीमा सुरक्षा भाव बढ्दै गएको भ्रान्ति हुन्छ। तर छिमेकमा आफन्त र साथी भइदिए, छिमेकीसँग भावनात्मक सम्बन्ध भइदिए, अग्लो पर्खालको के काम? प्रहार गर्ने कोही छैन भने खतरा कोबाट? वरिपरिका मानिसलाई शत्रुतापूर्ण व्यवहार गर्नेलाई नै अग्लो पर्खालको जरुरत हुन्छ। सबै छिमेकमा मैत्रीपूर्ण व्यवाहार गर्नेका लागि पर्खाल त मित्रतामा अवरोध मात्र हो, सुरक्षा होइन। अहं मित्रतामा अवरोध हो। जहाँ मित्रता हुन्छ, त्यहाँ अहं आफैँ कमजोर हुँदै हराएर जान्छ। अहंकार स् दुःखको कारण जीवनको सत्य जस्तो छ, त्यसलाई त्यही रूपमा स्वीकार्दा अहंलाई चोट पुग्छ। जीवनको सत्यमा फेरबदल गर्ने प्रयत्नमा अहंले प्राण पाउँछ। सत्यलाई सावित गर्नु जरुरी हुँदैन। सत्यमा फेरबदल गर्नु खोच्नु भ्रान्ति हो। झूट हो। तर झूटलाई सावित गर्न निरन्तरको प्रयास चाहिन्छ। तसर्थ अहंलाई सावित गर्न निरन्तरको प्रयत्न चाहिन्छ। निरन्तरको ऊर्जा चाहिन्छ। सत्य भन्नु नै सृष्टिको नियम हो। गहिरो अर्थमा अहं एक व्यक्ति र सृष्टिबीचको लडाइँ हो। सन्तति र जननीबीचको लडाइँ हो। थोपा र समुद्रबीचको लडाइँ हो। तसर्थ यो अहंको लडाइँमा व्यक्तिको हार सुनिश्चित छ तर अहं जित्नुमा रमाउँछ। हार्नु अहंका लागि मर्नु समान पीडादायी हुन्छ। मानिस प्रकृतिको सानो अंश हो। समग्र अस्तित्वको एउटा एकाई हो। अस्तित्व शाश्वत हुन्छ तसर्थ मानिस पनि शाश्वत हुन्छ। ‘म’ भन्ने भाव छैन भने ‘मेरो जीवन’ नहुनुको के अर्थ? अर्थात् ‘म’ भन्ने भाव छैन भने मेरो ‘मृत्यु’ कसरी सम्भव हुन्छ? केही चिजको मृत्यु सम्भव छ भने त्यो अहं नै हो। तर अहं एकचोटि मात्रै होइन, हजारौँचोटि मर्छ। तसर्थ अहंपूर्ण मानिस हजारौँचोटि मरेको महसुस गर्छ। छिमेकीले बेइज्जत गरिदियो, अहं मर्छ, हाकिमले गाली गर्रुयो, अहं मर्छ। प्रेमिकाले केही दिनदेखि फोन उठाएनन्, अहं मर्छ। मनले चाहेको जस्तो नहुँदा, अहं पलपल मर्दै गरेको देख्दा मानिसलाई एक दिन सधैँका लागि अहं मर्नेछ भन्ने ज्ञात हुन्छ। हो, यस कारण मेरो अहं नै ‘म’ हुँ भन्ने मानिसलाई मर्ने डरले सधैँ पिछा गरिरहन्छ। तसर्थ अहंलाई बचाइराख्न निरन्तर समय र ऊर्जा लगाइराख्न मानिससँग न त ‘जीवन उत्सव’ मनाउने ऊर्जा रहन्छ, न समय नै। घृणा, क्रोध, इर्ष्या जस्ता मानसिक व्याकुलता प्रतिस्पर्धी भावका कारण उत्पन्न हुन्छन्। ‘म’ भाव नै ‘मेरो’ भावको जननी हो।
साभार ः थाहाखबर डटकम ।




