| शनिबार, अशोज ९, २०८३

बोलेर नपुर्याउनेप्रति बारपाक बासीको मन भाँचियो

‘नेताहरु आउँछन्, बोल्छन्, जान्छन् । उनीहरु गएपछि उनीहरुको प्रतिवद्धता पनि उनीहरुकै पछिपछि जान्छ’, भूकम्पपछि गाउँमा आएका राष्टूपतिदेखि प्रधामन्त्री, मन्त्री, सांसद, नेता, ठूला ओहोदाका कर्मचारीहरुले बोलेको नपुगेपछि दिक्क बारपाकबासीको गुनासो हो यो ।
यो गुनासोले प्राय नेपालका सबै गाउँलेको गुनासोको प्रतिनिधित्व गर्छ । नेता नतौली बोल्छन् ।
बोलेको कुरा पूरा हुन्छ कि हुन्न पूर्वसम्भाव्यता अध्ययन नगरी बोल्छन् । क्षणिक लोकप्रियता र तालीका लागि फ्यास्स बोल्दा गाउँलेलाई कति छुन्छ, प्रतिवद्धता पूरा नहुँदा गाउँलेको मन कति भाँचिन्छ ? नेताले राम्ररी बुझ्नु पर्छ ।
सन्दर्भ बारपाक सडकको हो । भूकम्पपछि बारपाक पुगेका प्रधानमन्त्री केपी वलीले दुईबर्षभित्र बारपाक सडक पिच हुनेछ भनेर बोलेर आए । भूकम्प गएको चार बर्ष भयो, अझै ५० प्रतिशत पनि काम भएको छैन । त्यो भन्दा डेढबर्षपछि प्रक्रिया सुरु गरेको जाइकाले निर्धारित समय पूरा नहुँदै पाँचवटा पुल निर्माण सम्पन्न ग¥यो । निर्धारित समय अगावै काम सक्छौं भनेर झ्याली नपिटाए पनि जाइकाले काम गरेर देखाइदियो ।
बारपाक सडक खण्ड कालोपत्रे गर्न चार वटा प्याकेज बनाएर काम भइरहेको छ । तर पहिलो प्याकेजको ठेकेदार नै गायब छ । दोस्रो प्याकेजको ६० प्रतिशत प्रगति छ । तेस्रो प्याकेजको जिम्मा लिएको लोहनी ब्रदर्शले थपिएको समयमा पनि काम नसकेपछि दोस्रो पटक म्याद थप्ने प्रक्रिया अघि बढाएको छ ।
अर्थात काम डामाडोल छ ।
नमच्चिने पिङको सय झड्का तथा नबर्सने मेघ गर्जिन्छ जस्ता नेपाली उखानलाई सिद्ध गर्दै नेपाली नेता प्रतिवद्धता बाँड्दै हिड्दा जनताको मन भाँचिनु स्वभाविक हो । नेताप्रति, राजनीतिप्रति वितृष्णा सिर्जना हुन्छ । त्यसैले बोल्नु अघि आफूले बोल्ने कुरा पूरा हुन्छ कि हुन्न जाँचबुझ गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्