स्वास्थ्य संस्थाको अनुगमन मात्र होइन, नियमन पनि गर
जिल्ला अनुगमन समितिले सोमबार गोरखाका आठवटा औषधी पसलहरु अनुगमन ग¥यो । केहीबाहेक अधिकांश औषधी पसलहरुमा कुनै न कुनै समस्या देखियो । कुनै औषधी पसलहरु बिना दर्ता चलेका छन् । कुनै नवीकरण नभै सञ्चालन भएका छन् । अनुगमन नगरेपनि ग्रामीण बजारमा रहेका अधिकांश औषधी पसलहरु बिना दर्ता चलेका छन् । ती औषधी पसलमा औषधी बेच्ने योग्यता पुगेका जनशक्ति पनि हुदैनन् ।
कतिपय औषधी पसलहरु डीफर्मा, बीफर्मा पढेका योग्य व्यक्तिको नाममा दर्ता हुन्छन् तर फार्मेसीमा औषधी बेच्न अरु अदक्ष जनशक्ति बसेका प्रसस्तै उदाहरण छन् । कतिपय स्वास्थ्य संस्थाहरुमा नेपालमा बेच्नका लागि अनुमति नपाएका(प्रतिबन्धित) औषधीहरु बेच्न राखिएका हुन्छन् । बिना प्रेस्क्रिप्सन स्नायु तथा मानसिक रोगका औषधीहरु पनि बेचिरहेको पाइन्छ । कतिपय औषधी ब्यबसायीहरुले औषधीसंगैसंगै लागुऔषध पनि बेचिरहेका हुन्छन् ।
सघन अनुगमन गर्ने हो भने यस्ता बिकृति, बिसंगतिहरु औषधी क्षेत्रमा छन् । मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने औषधीको क्षेत्रमा देखिएका यस्ता बिकृति तत्काल अन्त्य हुनु आवश्यक छ । तर हाम्रा गाउँघर मात्र होइन, बजार क्षेत्रमा समेत झोलामा औषधी बोकेर हिड्नेहरु भेटिन्छन् । गोरखा बजारमै फेला परेका त्यस्ता अबैध ब्यबसायीहरुलाई गतबर्ष प्रहरीले पक्राउ गरी बिना कारबाही सामान जफत गरेर मात्र छोडेको थियो ।
औषधी ब्यबस्था बिभाग वा अनुगमन गर्ने निकायहरुबाट अनुगमनका लागि आएका टोलीले बिभागबाट नामावली ल्याएका हुन्छन् र त्यहाँमात्र अनुगमन गर्छन्, जुन पसल दर्ता भएको हुन्छ तर बिना दर्ता चलेकाको अनुगमन नै गर्दैनन् ।त्यतिमात्र होइन, गोरखा बजारकै कतिपय अस्पताल वा अन्य स्वास्थ्य संस्थामा एक्सरे वा भिडियो एक्सरे अदक्ष जनशक्तिले चलाइरहेको पाइन्छ । यस्ता अनुगमन गर्नुपर्ने बिषय धेरै छन् । त्यस्तो अस्तव्यस्ततालाई व्यबस्थित बनाउन अनुगमन र नियमन गर्नु जरुरी छन् ।




