पानीमा बारम्बार अखाद्य बस्तु, फितलो अनुगमन
आँबुखैरेनी गाउँपालिका ४ स्थित सुरज मिनरल वाटर प्रालि नामक कम्पनीबाट उत्पादित छिम्केश्वरी खानेपानीको बोत्तलभित्र गत चैतको आठ गते अखाद्य बस्तु(लेदो) भेटियो । कृति वेभरेजले उत्पादन गर्ने सञ्जीवनी नामको खानेपानीको बोत्तलभित्र चराको प्वाँख भेटियो । दुवै खानेपानीलाई खाद्य परीक्षण तथा गुणस्तर विभागमा परीक्षणका लागि पोखरा र भैरहवा पठाइयो । दुवै पानी गुणस्तरहीन रहेको भेटियो । त्यतिबेलासम्म गोरखामा ती पानी प्रतिबन्धित भए । केही समयको कसरतपछि दुवै कम्पनीले बिभागबाट खान योग्यको प्रमाण लिएर आए । त्यसपछि खुल्यो ।
त्यसको केही महिनापछि फेरि रेयल फिसर नामको पानीको दुईवटा बोत्तलभित्र पेटूोल भेटियो । त्यसउपर साधारण कारबाही भयो । अहिले फेरि छिम्केश्वरी खानेपानीको बोत्तलभित्र अखाद्य बस्तु भेटियो । गत शनिबार पन्द्रकिलोस्थित खाजाघरमा सो पानीको बोत्तलभित्र अखाद्य बस्तु भेटिएपछि प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले सो पानी गोरखामा प्रवेश निषेध गरेका छन् ।
पटक पटक पानीमा अखाद्य बस्तु भेटिए पनि निरिह उपभोक्ताले त्यस्तै पानी प्रयोग गरिरहनु परेको छ । उद्योग लापार्बाहीका कारण उपभोक्ताले प्रदुषित पानी खानुपर्ने बाध्यता छ । नखाए पनि बैकल्पिक उपाय छैन । कारबाही गर्न उपभोक्तासंग कुनै उपाय छैन । उपभोक्ता हित संरक्षण मञ्चले यस बिषयमा झक्झक्याइरहनु पर्ने हुन्छ । र यस उपर जिल्ला प्रशासन कार्यालयले कारबाही गर्नुपर्ने हुन्छ ।
तर गोरखा उपभोक्ता हित संरक्षण मञ्चको गतिबिधि पनि त्यत्ति तिब्र छैन भने जिल्ला अनुगमन समितिको अनुगमन पनि मौसमी हुने गर्छ । दशैंको अघि केही सघन अनुगमन भए पनि त्यसपछि त्यति अनुगमन भएको पाइँदैन । अनुगमन गर्ने दायित्व जिल्ला समन्वय समिति र स्थानीय तहहरुको दायित्व पनि हो । तर तीब्र अनुगमन भएको पाइँदैन । उपभोक्ताको हितलाई ध्यानमा राखी अधिकारप्राप्त सबै निकायले अनुगमन गर्नुपर्छ ।




