| बिहिबार, अशोज ७, २०८३

झोलामा खोला बोक्नेदेखि सावधान

धार्चे गाउँपालिकाको गाउँसभाले गाउँपालिकालाई लोडसेडिङमुक्त बनाउने निर्णय ग¥यो । विद्युत उत्पादन गर्न सकिने आठ वटा खोलाको सम्भाव्यता अध्ययन गर्न एक करोड रुपियाँ ऋण लिने निर्णय पनि ग¥यो । गाउँपालिकाका प्रमुख सन्तोष गुरुङ विद्युत विकास बिभागमा गएर प्रारम्भिक कुरा सोध्दा आठैवटा खोला बिभिन्न कम्पनीले दर्ता गरिसकेको थाहा पाए ।
गाउँका सबै खोला दलालले दर्ता गरेको थाहा पाएपछि उनी छाँगाबाट खसेजस्तो भए । अहिले माछीखोला दर्ता गर्ने एउटा कम्पनीले विद्युत उत्पादनको प्रारम्भिक प्रक्रिया सुरु गरेको छ । १८.५ मेगावाट विजुली उत्पादन गर्ने भनेर सो कम्पनीले प्रक्रिया अघि बढाए पनि अध्यक्ष गुरुङ आशावादी छैनन् ।
यो त एउटा उदाहरण मात्र हो । धार्चेका खोला मात्र होइन, बुढीगण्डकीका बिभिन्न भाग, दरौंदी, चेपे, मस्र्याङ्दी सबका सब खोलाका बिभिन्न खण्ड दर्ता गरेर सिध्याइसकेका छन् ।
दर्ता गरे अनुसार विद्युत उत्पादन गर्ने हो भने गोरखाबाट उत्पादित विद्युत निर्यात गर्न पुग्छ । यारुमा बुढीगण्डकीबाट छसय मेगावाटको विद्युत उत्पादन गर्न एक कम्पनीले दर्ता गरिसकेको छ । बर्षौअघि दर्ता भएका कुनै पनि खोलाबाट विद्युत उत्पादनको प्रक्रिया भने सुरु भएको छैन । सबै झोलाभित्र खोला बोकेर हिड्नेहरुले बिगारेका छन् । उनीहरुलाई नियन्त्रण गर्न राज्यले चासो दिनु पर्छ ।
अहिले त स्थानीय सरकारले सहमति दिने प्रावधान छ । यसअघि चलखेल गरेर दर्ता गरे पनि अब आफ्नो खोलाको संरक्षण आफै गर्नुपर्छ । कुनै पनि प्रकारको प्रलोभनमा परेर माफियाहरुको खेलमा फँस्नु हुदैन । कहीँ स्थानीय सरकार फँस्छ कि भनेर स्थानीयबासी पनि सचेत र सजग हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्