सामागाउका बासिन्दाको गुनासो सुनुवाइ गर
सामागाउँको जंगलमा आइतबार, सोमबार र मंगलबार डँढेलो लाग्यो । त्यहाँका बासिन्दा दिनरात नभनी आगो निभाउन सक्रिय रहे । सुरक्षाकर्मीले पनि साथ दियो । पुस महिनाको चिसो, मनासलु हिमालको बेस क्याम्पको चिसो ठाउँ, कोही जंगलमै निदाए, कोही आगो उम्किएर गाउँ नजिकको जंगलमा आउला भनेर रातभरि जागै रहे ।
बल्लतल्ल आगो नियन्त्रणमा आएपछि तीन दिनको दिनमा उनीहरु मंगलबार घर फर्किएका छन् ।
तीन दिनसम्म फोन समेत रिसिभ नगरी गाउँलेहरु जंगलमा खटे । संरक्षण क्षेत्रभित्रको सुकेको घाँसले भरिएको जंगल, लामो समयदेखि पानी नपरेको, हिउँ समेत नपरेको र सुख्खा हावा चलिरहने भएकाले जंगलमा भिषण डँढेलो फैलियो । संरक्षण क्षेत्र भएकाले सो जंगलमा अहिलेसम्म डँढेलो समेत लागेको थिएन । सुकेको घाँस, सुकेको दाउराले भरिएको जंगलमा फैलिएको डँढेलो दुईदिनसम्म उनीहरुको नियन्त्रण बाहिर थियो । आगो निभाउन उनीहरुले थप मद्दत माग गरेका थिए । तर सरकारले उनीहरुको बिपदप्रति कुनै प्रकारको सहयोग गरेन ।
डँढेलो निभाउन उनीहरुले ग्याँस माग गरेका थिए । थप सुरक्षाकर्मी माग गरेका थिए । तर त्यहाँको समस्या समाधान गर्नु सरकारको प्राथमिकतामा परेन ।
संरक्षण क्षेत्रमा बिभिन्न शीर्षकको राजस्व उठाउन मात्र होइन, संरक्षण क्षेत्रको संरक्षणका लागि राज्यको दायित्व ठूलो हुन्छ । तीन दिनको डँढेलोले त्यहाँका अति महत्वपूर्ण मानिने कस्तुरीमृग, डाँफे, घोरल, झारल, नाउरहरु डढेर मरे । तिनको संरक्षण गर्नु सरकारको पहिलो र त्यसपछि स्थानीयबासीको दायित्व हो । तर सरकारले डँढेलो निभाउन सहयोग नगरेको भन्दै स्थानीयबासीले दुख ब्यक्त गरेका छन् ।




