| बिहिबार, अशोज ७, २०८३

लघु जलविद्युतलाई प्रवद्र्धन गर

पूर्वाधार विकास भनेको स्वास्थ्य, शिक्षा, सडक, विद्युत हो । हरेक विकासका लागि विद्युत अपरिहार्य हुन्छ । त्यसैले अहिले विद्युतको उपभोग, उपभोक्ता बढिरहेका छन् । गोरखाको सन्दर्भमा पनि विद्युतका उपभोक्ता बर्षेनी १० प्रतिशतले बढिरहेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
विद्युत उत्पादनको अनुपातमा उपभोगको अनुपातको तालमेल मिल्दैन । उत्पादन कम, उपभोग बढि हुँदा भारत लगायत मुलुकसंग विद्यृत खरिद गरिरहनु परेको छ । जसले गर्दा बर्षेनी ठूलो परिमाणमा रकम विदेशिएको छ ।
हाम्रो देश जलस्रोतले धनी देश हो । गोरखामा पनि अथाह जलस्रोत छ । यदि यहाँ उपलब्ध जलस्रोतबाट जलविद्युत उत्पादन हुने हो भने गोरखा जिल्लाका लागि विद्युत पर्याप्त हुनेछ । त्यतिमात्र होइन, अन्यत्र निर्यात पनि गर्न सकिन्छ । त्यसैले यहाँ भएका जलस्रोतको भरपुर उपयोग गरी विद्युत उत्पादन गर्नतिर ध्यान दिनुपर्छ ।
अहिले निर्धारित किलोवाटसम्मको विद्युत उत्पादनको अनुमति स्थानीय तहले नै दिन सक्ने ब्यबस्था छ । त्यसैले स्थानीय तहहरुले विद्युत उत्पादन गर्ने, विक्री गर्ने र आर्थिक स्रोत जुटाउनेतिर पनि ध्यान दिनुपर्छ । विशेष गरी अजीरकोट, बारपाक सुलीकोट, धार्चे, चुमनुब्री र आरुघाट गाउँपालिका स्थानीय खोलाहरुबाट साना तथा ठूला जलविद्युत उत्पादन गर्ने सक्ने सम्भावना धेरै भएको गाउँपालिकाहरु हुन् । अहिले विद्युत प्राधिकरणले लघु तथा साना जलविद्युत आयोजनासंग विजुली किनेर केन्द्रीय ग्रिडमा जोडेर उत्पादकलाई पैसा दिने नीति पनि लिएको छ । त्यतिमात्र होइन, विद्युत उत्पादनको क्रममा स्थानीय स्तरमा रोजगारी सिर्जना हुन्छ ।
त्यसैले ती गाउँपालिकाले जलविद्युत उत्पादनसम्बन्धी नीति तय गरेर अघि बढेमा विद्युतमा आत्मनिर्भर र विद्युत बिक्री गरेर संवृद्ध बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्