महोत्सव भव्य, सभ्य होओस्
दसौं गोरखा महोत्सव आजदेखि सुरु हुदैछ । महोत्सव आयोजना गर्न गोरखा उद्योग वाणिज्य संघ अहोरात्र खटेको छ । नवौं पटकसम्म महोत्सव आयोजना गर्दा अभ्यस्त बनेको गोरखा उद्योग वाणिज्य संघले सबै सिकाइबाट पोख्त हुदै यो बर्षको महोत्सव ज्यादै चुस्त, दुरुस्त बनाउनेछ भन्ने अपेक्षा छ ।
महोत्सवलाई सभ्य बनाउनका लागि बजारमा ध्वजापताका नटाँग्ने नीति लियो । ध्वजा पताकाल बजारलाई भद्दा बनाउने भएकाले पोलहरुमा झण्डाहरु मात्र राखेको छ । साथै ध्वजा पताकाले सिसि क्यामेरालाई डिस्टर्ब गर्ने संघले निश्कर्ष निकालेको छ । यसले महोत्सवलाई सभ्य नै बनाउला ।
महोत्सव नजिकिदै गर्दा सडक सफा गर्ने काम पनि भएको छ । धूलो कम गर्न पानीले भिजाउने काम पनि गरेको छ । अरु बिभिन्न प्रयास पनि भइरहेको छ ।
यति हुँदाहुदै पनि बजारमा धूलो उँड्न रोकिएको छैन । चिसो बढेसंगै स्थानीय सर्बसाधारण बिरामी हुने क्रम बढिरहेको छ । यही बेला सवारी चाप र जीर्ण सडकका कारण धूलो बढ्नेछ । यसले थप बिरामी बढाउने त्रास छ । तसर्थ आयोजकले आवश्यक प्रविधि अपनाएर धूलो न्यूनिकरण गर्ने काम गर्नका लागि प्राथमिकता देओस् । महोत्सव स्थलमा पनि धूलो नै नउँडने अथवा कम भन्दा कम धूलो उँड्ने उपाय अपनाउनु पर्छ ।
यतिले मात्र महोत्सव सभ्य हुदैन । महोत्सव सभ्य बनाउन सर्वसाधारणको पहुँच बढाउन टिकटलाई व्यबस्थित बनाउनु पर्छ । महोत्सवलाई व्यबसायिकतामा कम र सेवामा वृद्धि गरी एउटै टिकटले बिभिन्न पटक आउन जान मिल्ने ब्यबस्था गरे सर्वसाधारणलाई सुबिधा हुनेछ । महोत्सव सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट मद्दत गर्नुपर्छ ।




