| आइतवार, कार्तिक २२, २०८३

उज्यालो भीमसेन अभियानले निरन्तरता पाओस्

स्थानीय सरकारले स्वात्तता पाएपछि मौलिक खालका बिभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन् । यस्तै क्रममा भीमसेन गाउँपालिको पृथक खालको अभियान सुरु गरेको छ, उज्यालो भीमसेन अभियान ।
अभियान अन्तर्गत गाउँपालिकाभित्रका बजार तथा ग्रामीण बस्तीलाई उज्यालो बनाउन बाहिर बत्ती बाल्ने गरिएको छ । सो बत्ती बाल्न २५ वाटको एलइडी र त्यसबापत उठ्ने महशुल पनि गाउँपालिकाले तिरिदिने निर्णय गरेको छ ।
पहिलो चरणमा चारसय १० ठाउँमा एलइडी बल्ब राख्न गाउँपालिकाले चारलाख १० हजार निकासा गरेको छ । अन्य ठाउँमा आवश्यकता हेरी थप्दै जाने गाउँपालिकाको नीति छ । घर त सबैले उज्यालो बनाउँछन्, टोलबस्ती, सार्बजानिक स्थल उज्यालो बनाउने र चोरी डकैती, गुण्डागर्दी निरुत्साहित गर्ने गाउँपालिकाको लक्ष्य हो । अभियानको अवधारणा राम्रो हो ।
अरु पालिकाका लागि अनुसरणीय पनि छ । तर कतिपय अभियानको उठान हुन्छ । केही समय निरन्तरता पनि पाउँछ । अनि विस्तारै सेलाउँदै जाने, बिग्रे, भत्के मर्मतसम्भार गर्न अल्छी गर्ने, आलटाल गर्ने र दुखद अन्त्य पनि हुने गरेको पाइन्छ । यस्ता उत्कृष्ट अभियानले निरन्तरता पाउनु पर्छ । यस्ता अभियानलाई कुनै पार्टीको नेतृत्वले उठान गरेको भनेर अर्को कार्यकालमा अन्त्य गर्ने खालको प्रयास गर्नु पनि हुदैन ।
जसरी सामाजिक सुरक्षा भत्ताको अवधारणा उत्कृष्ठ थियो, यसको अरु पार्टी नेतृत्वको सरकारले पनि निरन्तरता मात्रै दिएन, झन थप गर्दै लगेको थियो । त्यस्तै एउटा पार्टी नेतृत्वको स्थानीय सरकारले उठान गरेको अभियान, जसले समाजमा सकारात्मक प्रभाव पारेको छ भने त्यसलाई निरन्तरता दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्