स्थानीय सरकारले देखिने काम गरोस्
गाउँगाउँमा सिँहदरबार भन्ने नाराले लक्षित गरे अनुसार गाउँ गाउँका सरकार भनेका जनप्रतिनिधि हुन् । त्यसैले बिभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुले नयाँ नयाँ काम गर्न थालेका छन् । गण्डकी गाउँपालिकाले सुत्केरीलाई ४२०० थप पोषण भत्ता दिएर उदाहरणीय काम गरिरहेको छ । फेरि अर्को महत्वपूर्ण काम गरेको छ, त्यो हो ः स्वास्थ्य चौकी पुग्न दुई घण्टा भन्दा धेरै समय लाग्ने ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको छ । ताकि, गाउँका सर्वसाधारण बिरामीहरुले बिरामी सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन पाउन् । नीजि मेडिकल वा क्लिनिकबाट महंगो स्वास्थ्य सेवा लिन बाध्य हुनु नपरोस् भनेर गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको हो । गाउँसरकारको यो काम ज्यादै उदाहरणीय छ । अन्य बिभिन्न गाउँपालिका, वडाहरुले पनि मौलिक खालको निर्णय गरेर जनताको घरदैलोमा सेवा पु¥याउनु पर्छ । यसले गर्दा जनताले स्थानीय सरकारको प्रत्याभूति गर्न पाउँछन् ।
स्वास्थ्य क्षेत्रमा होओस् वा शिक्षाको क्षेत्रमा होओस्, स्थानीय सरकार हरुले बिभिन्न मौलिक खालका कार्यक्रम गर्ने गरेका छन् । यो प्रसंसनीय छ । अब उनीहरुले भूकम्प पीडितले प्रत्यक्ष लाभ पाउने खालको कार्यक्रम पनि गरुन्, जसले गर्दा सरकारी तीनलाख रुपियाँ पाएर पनि नीजि आवास बनाउन सकेकाहरुले घर बनाउन सहज होओस् । धेरै सुकुम्बासीहरुले अझै घरबनाएका छैनन् । तीनलाख रुपियाँले जग्गा जुटाएर घर बनाउन नसक्नेहरु प्रभावित हुने खालका कार्यक्रम पनि स्थानीय सरकारले गरोस् । त्यस्तै एकल महिला, अपांगता भएका, ज्येष्ठ नागरिक, अनाथ बालबालिका र ज्यादै बिपन्न समुदायले पनि घर बनाउन सक्ने खालको कार्यक्रम स्थानीय सरकारले ल्याएमा उनीहरु पनि पक्की घरमा बस्न पाउने थिए ।




