| आइतवार, कार्तिक २२, २०८३

महोत्सवबाट बचेको रकम के मा खर्च गर्ने ?

लोकप्रिय नाराका साथ दसौं गोरखा महोत्सवको भव्य तयारी भइरहेको छ । पुस पाँचदेखि १४ गतेसम्म १० दिनसम्म चल्ने मेलाको तयारी करिब करिब अन्तिम अन्तिम हुदैछ । महोत्सवको तयारीका लागि आयोजक गोरखा उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु अहोरात्र खटिइरहेका छन् ।
मेला, महोत्सवको आयोजना त अन्य बिभिन्न संस्थाहरुले बिभिन्न समयमा बिभिन्न ठाउँमा गरिरहन्छन्, तर गोरखा उद्योग वाणिज्य संघले गर्ने महोत्सवलाई विशेष महोत्सव मानिन्छ । उद्योग वाणिज्य संघ जिल्लाकै ठूलो संस्था पनि अनि २० बर्षअघि देखि हुदै आएको महोत्सव भएर पनि यो महोत्सवलाई विशेष चासोका साथ लिने गरिन्छ । गोरखा महोत्सवमा राष्टिूय स्तरमा ख्याति कमाएका गायक, कलाकारहरु आएर प्रस्तुती गर्नेछन् । त्यसको रौनक अवलोकन गर्न र मनोरञ्जन लिन जिल्लाभित्र तथा बाहिरबाट समेत जात्रुहरु आउने गर्छन् । मेला आयोजना गर्नुको उद्देश्य त्यो पनि हो । तर महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य के हो ? कृषि उत्पादनको प्रवद्र्धन गर्नु, कला संस्कृतिको प्रवद्र्धन गर्नु, पर्यटन विकास गर्नु जस्ता अमूर्त लक्ष्य त छँदैछ । महोत्सव गरेर आम्दानी भएको रकमले के गर्ने भन्ने बारेमा पनि स्पष्ट लक्ष्य उद्देश्य बनाउनु पर्छ ।
यसअघिका महोत्सवबाट लाखौं रुपियाँ जुटेको इतिहास साक्षी छ । यसबर्ष पनि रकम नबच्ने भन्ने कुरै भएन । सो रकमले के गर्ने ? स्पष्ट हुनु आवश्यक छ । संघसंग यो खाका पनि हुनसक्छ । विशेष गरी महोत्सवबाट जुटेको रकमले यसअघि सुरु गरिएको होमस्टे कार्यक्रमलाई टेवा दिनु वा यस्तै अन्य महत्वपूर्ण कार्यमा खर्च गर्नु वेस हुनेछ ।

प्रतिक्रिया दिनुहोस्