दरौंदी लिफ्टिङ आयोजनाले पानीको माग पूर्ण रुपमा आपूर्ति गरोस्
गोरखा सदरमुकामका लागि दरौंदी लिफ्टिङ खानेपानी आयोजना सुरु भएको छ । उपभोक्ता समितिका अध्यक्ष बद्री मास्केका अनुसार आयोजनाको ५० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
यो आयोजना सम्पन्न भएपछि गोरखा नगरपालिकाको वडा नं. ३, ४, ५, ६, ७ र ८ का बासिन्दाले पर्याप्त पानी पाउने अपेक्षा छ । चार हजार आठसय घरधुरीलाई पुग्ने लक्ष्य राखिएको महत्वाकांक्षी आयोजनाको काम लरोतरो हुन्छ कि भन्ने सर्बसाधारणमा चिन्ता छँदैछ । यस्तो बेला अहिले सो कामको अनुगमन गर्ने प्राविधिक जनशक्ति छैन ।
यसअघि आयोजना सञ्चालन गरेको खानेपानी तथा सरसफाइ डिभिजन अहिले प्रदेश सरकार माताहत गएको छ तर यो आयोजना भने संघ सरकार माताहत नै छ । संघ माताहतको कार्यक्रमको प्रदेश सरकारको प्राविधिकले अनुगमन, निरीक्षण गर्दैनन् । त्यसैले आयोजनाको कामको गुणस्तर माथि अहिले शंका पैदा भइरहेको छ ।
यही आयोजनाका लागि कार्यालय सञ्चालन गर्नुपर्छ भन्ने उपभोक्ता समितिको माग हो, तर अहिलेसम्म माग पूरा भएको छैन । यसको अनुगमन गर्न संघ माताहत कार्यालय नहुने भएपछि यो आयोजनाको परिमाण तथा गुणस्तर जाँच हुन सकेको छैन । यो दुखद कुरा हो ।
सदरमुकाम बजारमा यसअघि वितरित साना सहरी खानेपानी आयोजनाले पर्याप्त आपूर्ति गर्न नसकेका कारण आयोजनाप्रति उपभोक्ता सन्तुष्ट छैनन् । यो वृहत पम्पिङ आयोजना पनि गुणस्तरहीन भयो भने बिग्रिएर हैरान, पानी आपूर्तिमा अपुग हुने गर्छ । त्यसैले बेलैमा यसप्रति सचेत भई सबैको माग पूरागर्न सक्ने आयोजना बन्नु पर्छ ।




